एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

एपिक्टा अवार्ड्स २०२४, ब्रुनेईका लागि सहभागी र निर्णायकहरू ब्रुनेई प्रस्थान

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल ब्रुनेई प्रस्थान गरेको छ ।

डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी ईभीले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन् ।

यस एपिक्टा अवार्ड्स २०२४ मा तीन नेपाली निर्णायकहरूले पनि अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा सहभागी भएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । यो अवार्ड्स नेपाली आईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्त्वपूर्ण अवसर हो।

एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो । यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनीबीच प्रतिस्पर्धा हुनेछ।

नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरूमा आईएमएस पीओएस म्यानेजमेन्ट (आईएमएस सफ्टवेयर प्रालि), इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि), ईकागजपत्र (ईकागजपत्र प्रालि) र एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्रालि) रहेका छन् ।

यस्तै, नेपालका तीनजना निर्णायकहरूले एपिक्टा अवार्ड्सको निर्णायक प्यानलमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्त, नास–आईटीका संस्थापक अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत रिचन श्रेष्ठ र नास–आईटीका महासचिव तथा लगप्वाइन्टका नेपाल अफिस निर्देशक दिपेन चापागाईं रहेका छन् ।

एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्त्वपूर्ण क्षणले नेपालका आईटी सेक्टरको प्राविधिकहरूको समर्पण र विशेषज्ञताका साथै नेपाललाई विश्वव्यापी आईटी हबका रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

Logo