काठमाडौं।
सांसदहरुले नेपालभित्र परम्परादेखि चल्दै आएको नापतौल सम्बन्धीको व्यवहार, भाषा र शब्दलाई संरक्षण गरेर जानु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नापतौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलमा सहभागि भएका सांसदहरुले नेपालभित्र प्रचलनमा रहेका नापतौल सम्बन्धी भाषा, इकाईलाई संरक्षण गर्नुपर्ने बताएका हुन् । समिति सभापति पर्शुराम मेघी गुरुङ्ले धेरै वर्षपछि अध्ययन अनुसन्धान हुँदा नेपालमा प्रचलनमा रहेको नापतौल सम्बन्धी इकाई र भाषाले देशको तत्कालिन अवस्था देखाउने हुँदा संरक्षण गर्नुपर्ने बताए ।
यस्तै सांसद बेदुराम भुसालले नापतौल इकाइका अंग्रेजी शब्दको सट्टा नेपाली शब्द प्रयोगमा ल्याउनु पर्ने बताए । नेपाली भाषाको संरक्षणको लागि पनि अंग्रेजी शब्दको नेपालीकरण आवश्यक रहेको बताए ।
सांसद ठगेन्द्रप्रकाश पुरीले नापतौल जनाउने अंग्रेजी शब्दको नेपाली भए नेपाली र अंग्रेजी मात्र भए नेपालीमा बुझिने गरी पारिभाषा दिएर स्पष्ट पार्नु पर्ने बताए ।
सरकारले नापतौलको इकाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन मिटर, किलोग्राम, सेकेण्ड, एम्पियार, केल्भीन, क्याण्डेला र मोल जस्ता शब्दलाई प्रयोगमा ल्याउन ऐन संशोधन गर्न लागेको छ ।































प्रतिक्रिया