काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै ढुवानीको व्यवस्था नगर्दा बझाङको साइपाल गाउँपालिकामा नुनको अभाव हुन थालेको छ ।
ठेक्का प्रक्रिया सम्पन्न भएको चार महिनासम्म पनि सम्झौता नहुँदा साइपालमा नुनको अभाव देखिन थालेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत साउन ४ गते नुन ढुवानीका लागि बोलपत्र आह्वान गरेर ढुवानीकर्तामा देउती बज्यै कन्ट्रक्सन एस प्रालिलाई छनोट गरेको थियो ।
तर, २०८१ भदौ २० गते कर्पोरेसनले छनोट भएका ठेकेदारलाई सम्झौता गर्न आउनका लागि आशयपत्र प्रकाशन गरेपनि कम्पनीले अहिलेसम्म पाएको छैन । सम्झौता गर्न आउ भनी दिएको पत्र लिएर सम्झौता गर्न जाँदा कहिले के कहिले के भनेर टारिरहेको कम्पनीको गुनासो छ । यता कर्पोरेसन नुन ढुवानीको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भन्दै मौन छ ।
मानिससँगै ठूलो संख्यामा पालिएका भेडाच्याङ्ग्रा र पशुवस्तुलाई पनि त्यही नुन खुवाउनु पर्ने भएकाले साइपालमा छिट्टै नुनको हाहाकार नमच्चिएला भन्न सकिन्न । यसअघि कर्पोरेसनले साइपालका लागि हरेक वर्ष मंसिरसम्म नुन ढुवानी गरेको थियो । तर, अहिले पौष महिना सकिन लाग्दासमेत नुन ढुवानीको अत्तोपत्तो छैन । हिउँ पर्यो भने चैतमा मात्रै ढुवानी गर्न सकिन्छ । त्यसो भए झन् समस्या निम्तिने पक्का छ ।
यस वर्षको साइपालका लागि साल्ट ट्रेडिङले नौ सय क्विन्टल नुनको कोटा छुट्याएको छ । गत वर्ष ७ सय ९६ क्विन्टल नुन साइपाल पठाएको थियो । कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत अनुदानमा ढुवानी गर्नका ४७ लाख १८ हजार ७ सय १८ रुपैयाँमा ठेक्कासमेत स्विकृत गरिसकेको अवस्थामा सम्झौता नभएका कारण पालिकाबासीले अनिलो खानुपर्ने अवस्था आएको छ । यसमा कर्पोरेसन नै जिम्मेवार देखिन्छ ।





























प्रतिक्रिया