काठमाडौँ । भूकम्पले क्षति पुर्याएर लामो समयदेखि अस्तव्यस्त अवस्थामा पुगेको घण्टाघर पुननिर्माणको काम अहिले धमाधम भइरहेको छ । २०७२ सालको भूकम्पले चर्किएको घण्टाघर ८ वर्षपछि पुननिर्माण गर्न थालिएको हो ।
अहिले उक्त घण्टाघरको पुननिर्माण गर्ने काम ५० प्रतिशत पूरा भइसकेको आयोजना निर्देशक प्रकाश अर्यालले जानकारी दिए । शहरी विकास तथा भवन निर्माण विभाग मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले घण्टाघरको विसं २०७९ मंसिर १६ गतेदेखि पुननिर्माणको कार्य थालेको थियो ।
परियोजनाका नियमित रूपमा दम दिनुपर्ने घडीको प्रतिस्थापनमा स्वचालित घडी राखेर पुरानै स्वरूपमा घण्टाघरको रेट्रोफिटिङ भइरहेको अर्यालले जनाए । भूकम्पले घण्टाघरको भित्रि भाग पनि कमजोर बनाएको अर्यालले बताए ।
घण्टाघर पुननिर्माण ३४ करोड ६७ लाख रुपैयाँको बजेट छुट्याइ काम अगाडि बढाइएको थियो । घण्टाघर मर्मत मात्र गर्दा राम्रो देखिने तर बलियो नहुने भएकाले अझ बलियो बनाउनका लागि रेट्रोफिटिङ गरिएको अर्यालले बताए ।

‘घण्टाघरको मर्मत मात्रै गर्दा भोलिका दिनमा नयाँ समस्या देखिन सक्छ, जसले गर्दा धेरै समय साथै खर्च हुनसक्ने भएकाले घण्टाघर बलियो हुने गरी पुननिर्माण भइरहेको छ,’ उनले भने ।
२०८० पुस अन्तिमसम्म पुननिर्माणको म्याद भए पनि विभिन्न कारणले पुननिर्माण कार्य सम्पन्न हुन नसकेको अर्यालले उल्लेख गरे । ‘कार्य प्रगति सोचेको भन्दा कम भइरहेको छ, सकेसम्म चाडैँ पूरा गर्नमा लागिपरेका छौँ,’ उनले भने ।
घण्टाघर पुननिर्माणको काम सकेर सञ्चालनमा आउन करिब ११ महिना लाग्ने अर्यालको भनाइ छ । पुननिमार्ण कार्य नयाँ ढङ्गले गर्न नसकिने तर पुरानै स्वरूपमा जस्ताको तस्तै निमार्ण गर्नुपर्ने भएकाले समय लागिरहेको बताइएको छ ।
‘निमार्ण व्यवसायी कम्पनीले समयमै स्रोत र जनशक्ति जुटाउन नसकेको कारण निर्माण कार्यमा बाधा आयो, हामीले पनि निमार्ण व्यवसायीलाई चाँडै काम सुरु गर्ने वातावरण बनाइदिन सकेनौँ’ अर्यालले भने । घण्टाघर मर्मतमा हाल ४०–५० जना कामदार खटिएका अर्यालले जानकारी दिए ।
पुसको अन्तिममै पुननिमार्णको म्याद सकिएकाले निर्माण व्यवसायी कम्पनी म्याद थप गर्ने प्रक्रियामा लागेको छ । अब हप्तादिनमा म्याद थप गरेर पुननिर्माण कार्य अगाडि बढाइने अर्यालले सुनाए ।
घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको एक भवनलाई भत्काएर पुनः बनाइराखिएको छ । घण्टाघर राणा प्रधानमन्त्री वीर शम्शेरले बनाउन लगाएका थिए । हाल यो त्रिचन्द्र कलेजको परिसरमा रहे पनि पुरातत्त्व विभाग अन्तर्गतबाट सञ्चालित छ ।































प्रतिक्रिया