काठमाडौं । नेपालमा स्मार्टफोन प्रयोग गर्ने व्यक्तिहरूको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ । इन्टरनेटको पहुँच बढेसँगै स्मार्टफोनको प्रयोगले जीवनलाई सरल र सुविधाजनक बनाउने भएकाले यसको माग पनि बढ्न थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउनदेखि पुषसम्म) मा १६ अर्ब ७१ करोड २७ लाख ८२ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ ।
उक्त मूल्यको ११ लाख १० हजार ५३० वटा स्मार्टफोन आयात भएर आएको तथ्यांकमा उल्लेख छ । फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक जस्ता सोशल मिडिया प्लेटफर्महरू नेपालमा बढी प्रयोगमा छन् । जसले प्रयोग गर्न भए पनि स्मार्टफोन किन्नको संख्या थपिँदै गएको बताइन्छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँको १० लाख १५ हजार २८६ वटा स्मार्टफोन आयात भएको थियो । यसरी फोनको मूल्यमा बृद्धि भइराख्दा स्मार्टफोन पसलको व्यवसाय पनि फस्टाउँदै गएको हो ।
स्मार्टफोनमा अनलाइन सपिङ, मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट र अन्य अनलाइन सेवाहरूको माध्यमबाट दैनिक जीवनलाई बढी प्रभावकारी र सहज बनाउने भएको यसका प्रयोग नेपालमा अझै बढ्ने आंकलन गरिएको छ ।
विभागका अनुसार नेपालमा यो ६ महिनाभित्रमा करिव ५० वटा देशबाट स्मार्टफोन आयात भएका छन् । नेपालमा चिनियाँ र भारतीय ब्रान्डका स्मार्टफोन सबैभन्दा धेरै आयात हुने गरेको विभागले बताएको छ ।
६ महिनामा चीनबाट ८ लाख ५९ हजार ४२५ र भारतबाट २ लाख ४८ हजार १७१ वटा स्मार्टफोन आयात भएका छन् । स्मार्टफोनको प्रयोगसँगै साइबर सुरक्षा र व्यक्तिगत गोपनीयताको समस्याहरू पनि बढेका छन् । यद्यपि यसको नियन्त्रणको लागि सरकारले पहल पनि गरिरहेको छ ।
यस्तै, मोबाइल सँगसँगै नेपालमा चार्जरको पनि उच्च आयात हुँदै आएको छ । नेपालमा विभिन्न देशबाट चालु आवको यो महिनासम्ममा २६ लाख ९४ हजार २२८ पिस चार्जर आयात भएको छ ।
भन्सार विभागले २३ करोड ८८ लाख ८१ हजार रुपैयाँ बराबरको उक्त चार्जर आयात हुँदा सरकारले ११ करोड ८३ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गरेको बताएको छ ।





























प्रतिक्रिया