सार्वजनिक खरिद अनुगमनद्वारा दुई निर्माण कम्पनी र चार फर्मलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमनद्वारा दुई निर्माण कम्पनी र चार फर्मलाई कालोसूचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसारको काम नगरेको भन्दै दुई निर्माण कम्पनी र चार फर्मलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले शनिबार सम्झौता अनुसार काम नगरेकाले कालोसूचीमा राखेको जनाएको छ । बिहीबार अनुगमन कार्यालयमा बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१ ) अनुसार कालोसूचीमा राख्ने निर्णय गरेको जनाएको छ ।

कालोसूचीमा परेका निर्माण कम्पनी तथा फर्मले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कार्यालयले नेपाली सेना, सम्भाररथी कार्यालय, सम्भाररथी विभाग जंगी अड्डाको सिफारिसमा बत्तीसपुतलीको श्रृंगेश्वर ट्रेड इन्टरनेशनललाई कालोसूचीमा राखेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन), जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) काभ्रेको सिफारिसमा आर एण्ड जी बिल्डर्स नेपाल प्राइभेट लिमिटेड कालोसूचीमा परेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा जेजेइसीसीएल र पप्पुरकोसी एण्ड न्यौपाने जेभीलाई कालोसूचीमा राखिएको छ । यसैगरी काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय बागदरबारको सिफारिसमा सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको हो ।

Logo