काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केवलकार निर्माणको विषयलाई राजनीतिकरण गरिएकाले विवादको समाधान हुनुको साटाे थप पेचिलो बन्दै गएको छ । एक पक्षले ताप्लेजुङको विकासमा केवलकार आवश्यक छ भनिरहँदा अर्को पक्ष विरोधका नाममा विरोध गरिरहेकाे छ ।
प्रदेश १ को नामकरण कोशी प्रदेश घोषणा गरेदेखि यसको विरोधमा एकजुट भएका पहिचान समूहहरू केवलकार निर्माण गर्ने कुरामा मात्रै होइन, पाथीभराको नाम नै मुक्कुमलुङ राख्नुपर्ने मागसहित एक ठाउँमा छन् । पाथीभरामा केवलकार निर्माणमा सरकारको सहमति रहेको अवस्थामा पनि त्यहाँ केवलकार बन्दा मुक्कुमलुङको ऐतिहासिक पहिचान मेटिने उनीहरुको धारणा छ । तर, यसमा कुनै सत्यता भने देखिँदैन ।
धर्म र संस्कृतको अतिक्रमण तथा राज्यको दमन भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय मुक्ति पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलहरु ‘नो केवलकार’ समूहले राखेका मागको पक्षमा देखिएका छन् । विशेषगरी पछिल्लो समय केवलकार निमार्णको विषयले चर्चा पाएसँगै आफ्नो गुमेको राजनीतिक अस्तित्व पुनरागमन गराउन र चर्चा रहन साना ठूला दल सबै लागेको देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केवलकार बनाउन आवश्यक नरहेको टिप्पणी गरेका छन् । उनले पत्रकार सम्मेलन नै आयोजना गरी जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केवलकार बनाउन जरुरी नभएको बताएका हुन् ।
उनले भनेका छन् कि- ‘सरकारले एकजना व्यापारीको फाइदा, केही राजनीतिक नेताको कमिसन र सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केवलकार बनाउन खोजिएको छ ।’
पाथीभरा मन्दिरमा केवलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा, सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनुपर्ने उनको भनाई छ ।
यसैबीच हालै गठन भएको दल राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।
यता सत्तारुढ दल नेपाली कांग्रेस–नेकपा एमालेले भने केवलकार बनाउन आन्तरिक रुपमा सहमति जनाए पनि बाह्य रुपमा खुलेर बोल्न सकेका छैनन् ।
तर, ताप्लेजुङकै प्रतिनिधित्व गर्ने एमालेका संघीय सांसद योगेश भट्टराई भने पाथीभरा केवलकार निर्माणको पक्षमा खुलेका छन् । उनले पत्रकार सम्मेलन नै गरी १९ बुँदे ध्यानाकर्षण पत्रमार्फत पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका हुन् । पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्द्धन र प्रवर्द्धनका लागि केवलकार बनाउन आवश्यक रहेको बताएका छन् । युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन सांसद भट्टराईले माग गरेका छन् । उनले तनावलाई शान्तिपूर्ण समाधान खोज्न राज्य र आन्दोलनकारी दुवै पक्षलाई ध्यानाकर्षण पत्रबाट आह्वान गरेका छन् ।
उनले भनेका छन्, ‘पवित्र कान्छी थानभन्दा केवलकार करिब २ सय मिटरको दूरीमा रहेको छ, पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटरबाहिर केवलकार स्टेसन निर्माण हुने देखिन्छ, पाथीभराको टुप्पोमा कुनै होटेल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन, रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ, बाहिर प्रचार गरिएजस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।’
पाथीभरा केवलकार निमार्णको पक्षमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि छन् । उनले पाथीभरामा केवलकार निर्माणको पक्षमा रहेको बताउँदै समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुने भएकाले केवलकार निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘ताप्लेजुङ दशकौंदेखि विकासकै पर्खाइमा रहेको छ ।’
ताप्लेजुङ जिल्ला सरोकार समिति पूर्वअध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी चित्रगुप्त साँवाले केवलकार ताप्लेजुङवासीका लागि विकास भएको बताएका छन् । उनले भने, ‘विकासले संस्कृति र परम्परा मास्दैन, बरु पाथीभराको प्रचार हुने, पाथीभराको महिमा बढ्ने र स्थानीय तथा बाह्य दर्शनार्थीहरुलाई सहज हुन्छ ।’
केन्द्रविन्दु डट कमसँग कुराकानी गर्दै उनले भने, ‘केवलकारको आवश्यकता ताप्लेजुङवासीले गरेका छन् । ताप्लेजुङमा घर भएका तर सहरतिर बस्दै आएकाहरुले विरोध गरेकाे सुहाएको छैन । पहिचानवादी त म पनि हो तर केवलकार ताप्लेजुङको विकासका लागि हो । अहिले यस विषयलाई राजनीतिकरण गर्नु आवश्यक छैन ।’
एमाले ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन पोमुले केवलकारको विषय अलि उचालिएको बताएका छन् । उनले भने, ‘केवलकार विकासको आधार हो । तर केवलकार बनाउने/नबनाउने विषय पेचिलो बन्दै गएको छ । केवलकार बनाउने हो । दुई पक्षीय वार्ता गरेर सहमति जुटाएर सकारात्मक रुपले केवलकार निर्माण गर्न आवश्यक छ ।’
पोमुको धारणा अनुसार नै राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि नो केवलकार पक्षसँग सकारात्क ढंगले वार्ता र संवाद गरेर केवलकार बनाउने/नबनाउने विषयको टुङ्गो लगाएर मात्रै अगाडि बढ्न आग्रह गरे ।
पाथीभरामा केवलकार निर्माण परियोजनाको विवादमा राजनीतिक प्रभाव सकारात्मक भन्दा नकारात्क पर्न गइरहेको कतिपयले बताइरहेका छन् । यसरी विकासका परियोजनामा राजनीतिकरण गरिनुहुँदैन र आस्थाका धरोहर रहेका धार्मिक स्थलहरुको विकास गरी सकारात्मक ढङ्गले परिचालन गनुपर्छ भन्ने निर्माण पक्षको धारणा छ ।
नेपाल उद्योग वाणिज्य महासंघ एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्वीकृति लिएर कानुनी प्रक्रियाअनुसार नै विकासकाे काम गरिरहँदा केवलकार निर्माणको विरोध गरेर राजनीतिक स्वार्थ र रोटी सिकाउने काम भइरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘अहिलेको आन्दोलन तथा अवरोध स्थानीय जनताले नभएर बाहिरका पहिचानवादी राजनीतिक अभियन्ता र विदेशमा बस्ने उनीहरुका आर्थिक स्रोतहरुले गरेका हुन् ।’





























प्रतिक्रिया