काठमाडौं । अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङले रारा रिसोर्टको निर्माण कार्य थालेका छन् । भर्चुअल माध्यमबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले शिलान्यास गरेसँगै यसको निर्माणको कार्य औपचारिक रूपमा सुरु भएको जानकारी दिइएको हो ।
उद्घाटनको क्रममा मन्त्री ठकुरीले यो प्रोजेक्टले कर्णालीको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘रारा ताल प्राकृतिक तथा ऐतिहासिक हिसावले आफ्नो छुटै पहिचान बोकेको छ, यो परियोजनाले पर्यटनको आवगमनलाई बढाउने र स्थानीयले रोजगारी पनि पाउँने छन्,’ उनले भने ।
डेढ अर्बको लगानीमा निर्माण थालिएको यो रिसोर्ट ८० रोपनी क्षेत्रमा फैलिने छ । कूल ६० कोठा क्षमताको यो रिसोर्ट पहिलो चरणमा ४० कोठासहित खोल्ने योजना रहेको एक्सपर्ट होल्डिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्जिव शर्माले जानकारी दिए । उक्त ठाउँको आर्थिक सम्बृद्धिको लागि यो आयोजना कोषेढुङ्गा सावित हुने उनको भनाई छ ।

गत वर्ष काठमाडौंमा सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेक विक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार संघीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालीले २ वर्षमा सक्ने लक्ष्य सहित काम सुरु गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधा सम्पन्न होटल नभएका कारण दुखेसो पोख्दै आएका बेला सिञ्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गरिएको बताइएको छ ।
हालको डिजाइन अनुसार रिसोर्टमा एउटा सुइट, चारवटा डिलक्स रुम र बाँकी ३५ वटा स्ट्यान्डर्ड रुम हुनेछन् । ८० रोपनी जमिनमा फैलिएको यो रिसोर्टले पहिलो चरणमा १२ वटा भिला निर्माण गर्ने लक्ष्य राखेको छ । यसमा १०० जना क्षमताको रेस्टुरेन्ट, स्पा, हेलिप्याड र अन्य सुविधा पनि कम्पनीले बताएको छ ।





























प्रतिक्रिया