के साँच्चै बजारमा ग्यासको अभाव भएको हो ?

के साँच्चै बजारमा ग्यासको अभाव भएको हो ?

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ ।

ग्यास उद्योगीहरुले आन्दोलन घोषणा गरेपछि ग्यासको अभाव सिर्जना भएको हो । ग्यास उद्योगीहरुले माघ ३० गतेबाट पीडीओ नउठाउने र फागुन ५ गतेबाट लोड नगर्ने र फागुन १८ गतेबाट उद्योगबाट ग्यासको बिक्री नै रोक्ने लगायतका आन्दोलन घोषणा गरेसँगै बजारमा ग्यासको अभाव देखिन थालेको हो ।

एलपी ग्यास उद्योग संघका महासचिव जितबहादुर कार्कीका अनुसार उपभोक्ताले आन्दोलनको सेड्युअल नबुझ्दा बजारमा एक्कासी माग बढ्न जाँदा केही चाप मात्रै परेको बताएका छन् । बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको उनको दाबी छ । महासचिव कार्कीका अनुसार माघ ३० गतेबाट पीडीओ नउठाउने, फागुन ६ गतेबाट लोड नगर्ने, फागुन १८ गतेबाट उद्योग बन्द गर्ने वा उद्योगबाट ग्यास नबेच्ने र फागुन २२ गतेबाट बल्ल डिलर्सबाट बिक्री गर्न रोक्ने भनेर आन्दोलनका कार्यक्रम तय गरिएको छ

उनका अनुसार ‘हड्ताल हुन्छ रे’ भन्ने हल्लाका भरमा घरमा भएका खाली सिलिण्डर लिएर मान्छेहरु ग्यास किन्न पुग्दा त्यसको चाप मात्रै परेको हो । उनले अहिले बजारमा पर्याप्त ग्यास रहेको र उद्योगहरुबाट पनि पर्याप्त मात्रामा डिलर्ससम्म ग्यास पुगिरहेकाले अभाव नहुने दाबी गरेका छन् । महासचिव कार्कीका अनुसार केही कम्पनीहरुको आफ्नै कारणले आपूर्तिमा समस्या रहेको दाबी गरेका छन् । नेपाल ग्यास, एसटी राजधानी लगायतका केही कम्पनीका ग्यासहरुको आपूर्ति भने कम्पनीकै कारण विगतदेखि नै प्रभावित हुँदै आएको तर, अहिले यो पनि क्रमशः सुधारोन्मुख देखिएको उनको भनाइ छ ।

ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापा उपभोक्ताको माग बमोजिम डिलर्सहरुले ग्यास नै नपाएको दाबी गर्छन् । आयल निगम पर्याप्त ग्यास दिइरहेका छौँ भन्ने र उद्योगीहरु ग्यास पाएनौँ भनिरहने कारणले गर्दा दशैँ अगाडीदेखि नै बजार माग अनुसार ग्यास उपलब्ध नरहेको उनको दाबी छ । ‘उपभोक्ताको माग अनुसार ग्यास नै उपलब्ध छैन, दशैँ अगाडीबाटै यो समस्या छ’ उनले भने, ‘आयल निगमले उद्योगीलाई पर्याप्त ग्यासको पीडीओ दिनुपर्‍यो, उद्योगबाट पाएपछि बेच्न समस्या छैन ।’

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर बजारमा ग्यास अभावको नभएको बताउँछन् । तर, अब ग्यासको आपूर्ति नै रोकिन्छ भन्ने हल्लाका कारण माग बढेको हुनसक्ने उनको भनाइ छ । ‘हल्लाका कारण आवश्यकताभन्दा बढी ग्यास राख्न खोज्दा मागेजति नपाएको हुनसक्छ, यसलाई अभाव भन्न मिल्दैन’ उनले भने, ‘आयातको मात्रा यथावत छ, घटेको छैन । अभाव हुँदैन ।’

सिंहदरबारमा वार्ता, आन्दोलन स्थगित

सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित आयल निगमका अधिकारी र ग्यास उद्योगीबीच छलफल भएको छ । छलफल पश्चात ग्यास उद्योगीहरु आन्दोलन स्थगित गर्न सहमत भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

नेपाल एल.पी. ग्यास उद्योग संघका पदाधिकारीहरुसँग भएको छलफल पश्चात संघले आयल निगम समक्ष पेश गरेका मागहरु सम्बोधन गर्न थप गृहकार्य गर्नुपर्ने देखिएको र यसका लागि थप समय आवश्यक परेको भन्दै आन्दोलन स्थगित गर्ने निर्णय भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

‘छलफलका क्रममा नेपाल आयल निगम समक्ष संघले पेश गरेका मागहरुलाई सकारात्मक रुपमा लिई समाधानका लागि गृहकार्य गर्न थप समय आवश्यक देखिएको हुँदा संघले आजका मितिदेखि घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरु १५ दिनका लागि स्थगन गर्ने निर्णय गरियो’ छलफल पश्चात भएको निर्णयमा उल्लेख छ ।

Skip This
Skip This
Logo