पित पत्रकारिताविरुद्ध कानुनी कारबाहीमा जाँदै चौधरी ग्रुप

पित पत्रकारिताविरुद्ध कानुनी कारबाहीमा जाँदै चौधरी ग्रुप

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । केही कार्यक्रम तथा अवार्डहरूले चौधरी ग्रुपको समर्थन रहेको भनी गलत दाबी गरिरहेको भन्दै चौधरी ग्रुपले आपत्ति जनाएको छ।

आधिकारिक वक्तव्य जारी गर्दै चौधरी ग्रुपले भनेको छ, ‘हामी स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं कि ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग हाम्रो कुनै सम्बन्ध वा सहकार्य छैन । हाम्रो नाम, पहिचान र विरासतको कुनै पनि अनधिकृत प्रयोग भ्रामक, अनुपयुक्त र कानूनी रूपमा अस्वीकार्य छ।’

बिहीबार वक्तव्य जारी गर्दै चौधरी ग्रुप (सीजी)ले एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा आफू सधैँ नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा उभिने भन्दै आफ्नो नामको कुनै पनि गलत प्रस्तुतीकरण व्यक्तिगत वा संगठनात्मक लाभका लागि गरिएको भए त्यसको कडा भत्र्सना गर्ने बताएको छ ।

यस्ता दुरुपयोग रोक्न कानूनी प्रक्रिया अगाडि बढाइएको र भविष्यमा यस्ता कुनै पनि अनधिकृत दाबीहरूले कानूनी कारबाही भोग्नुपर्ने पनि सीजीले चेतावनी दिएको छ।

सीजीले केही मिडिया संस्थाहरूलेसमेत पित पत्रकारिता प्रदर्शन गरेको आरोप लगाउँदै भनेको छ, ‘गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गर्छन्। गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन सक्दैन।’

सीजीले आफ्नो निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि हामी यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदै गरेकोसमेत जनाएको छ।

उसले नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध रहेको र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य नहुने बताएको छ।

Logo