काठमाडौं । ‘उज्यालो नेपालको सारथी’ उपनाम पाएका कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । घिसिङ २०७८ साउनमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका थिए। उनको कार्यकाल आगामी साउन महिनामा सकिँदै थियो । तर, ४ महिना अगावै उनलाई हटाएर सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गरेको हो ।
शाक्य प्राधिकरणमा अपरिचित नाम होइन । इलामका स्थायी बासिन्दा शाक्य प्रसारणलाइन विज्ञ हुन् । लामो समय उपकार्यकारी निर्देशक भएर एनईए इन्जिनियरिङ कम्पनीमा काम गरेको अनुभव उनीसँग छ । शाक्य प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । उनी ओलीको सालो पर्नेसमेत चर्चा चल्ने गरेको पाइन्छ ।
घिसिङको पहिलो कार्यकाल २०७७ भदौमा सकिएपछि करिब ३३ वर्षदेखि विद्युत प्राधिकरण अन्तर्गतका निकायमा काम गरेका शाक्यलाई २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो। त्यसपछि केपी शर्मा ओली नै प्रधानमन्त्री रहेका बेला २०७७ मंसिरमा उनलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी दिइयो र २०७७ फागुनमा उनले चार वर्षका लागि कार्यकारी निर्देशको जिम्मेवारी पाएका थिए।
सरकार परिवर्तन भएपछि उनलाई २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाइएको थियो। त्यसअघि तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले राजीनामा दिन आग्रह गरे पनि उनले राजीनामा दिन नमानेपछि हटाइएको थियो। सरकारले उनलाई उर्जा मन्त्रालयमा तानेर कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिएको थियो ।
आफूलाई हटाउनुको स्पष्ट कारण नभएको भन्दै शाक्यले सरकारको निर्णयविरूद्ध २०७८ साउनमा सर्वोच्चमा रिट हालेका थिए। अदालतले १५ दिनभित्र लिखित जवाफ माग गर्दै त्यसपछि तीन दिनभित्र फैसला गर्ने आदेश दिएको थियो। उनको मुद्दामा १३ पटक इजलासमा पेसी चढ्यो तर जम्मा दुईपटक सुनुवाइ भयो। गत माघ २४ गते उमेर हदका कारण उनले अवकाश लिएका थिए। अहिले फेरि उनकै पुनरागमन भएको छ, त्यो पनि ओलीकै कार्यकालमा ।
शाक्य प्राधिकरणमा पुनः नियुक्त पाउने दौडधुपमा केही समयदेखि लागेका थिए ।































प्रतिक्रिया