संखुवासभा
जिल्लामा निर्माण हुने भनिएको ७२५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न सूचना आव्हान गरिसकेको जनाएको छ । इच्छुक कम्पनीले आगामी २० पुस भित्र आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।
किमाथाङ्का–जोगवनी सडक खण्डको कोशी राजमार्ग सडक अन्तर्गत गोला र बरुण बजार बीचमा पर्ने छङ्ग्रानबाट आयोजनाको बाँधस्थल चेपुवा नजिकसम्म पुग्ने सडकमा २ किलोमिटर सुरुङ र २ वटा पक्की पुल निर्माण गर्नु पर्नेछ ।
चीनसँगको नाका जोड्ने कोशी राजमार्गको निर्माण सरकारले गरिरहेको छ । इच्छुक कम्पनीको प्रस्ताव मूल्याङकन गरी पूर्व योग्यतामा सफल भएका कम्पनीसँग आगामी चैतको पहिलो साता भित्रमा टेण्डर आव्हान गर्ने कार्यतालिका तयार भइरहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले बताए ।
सरकारले प्राधिकरणको सहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न माथिल्लो अरुण जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको ऊर्जाका सहसचिव घिमिरेले बताए ।
सरकारले फागुन २०६९ मा आफ्नो स्वामित्वमा रहने गरी प्राधिकरण मार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । कम्पनीले २०७३ को चैतमा लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको जनाएको छ । मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले आयोजनाको लाइसेन्स पनि अब प्राप्त हुने ऊर्जा मन्त्रालयका सहसचिव घिमिरेले बताए । दातृनिकाय विश्व बैंकको सहुलियत पूर्ण ऋणमा आयोजनाको अहिले विस्तृत अध्ययन भइरहेको छ ।
यो काम सन् २०२० को फेब्रुअरीमा सक्ने लक्ष्य राखिएको छ । सन् १९८५ मा गरिएको कोशी बेसिन मास्टर प्लानबाट माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजनाको रुपमा पहिचाहन भएको सहसचिव घिमिरेले बताए ।
राजधानीबाट
प्रतिक्रिया