नेपाली अटोमोबाइल बजार डिजेल हुँदै पेट्रोलदेखि ईभीसम्म आइपुग्दाको अवस्थामा निकै उत्तरचढावको महसुस यो क्षेत्रमा गर्न सकिन्छ । म आफैं पनि डेढ दशकदेखि यो क्षेत्रमा बिताइसकेको हुँदा परिवर्तनशील अटोमोबाइलको गतिलाई राम्रोसँग नियाल्ने अवसर पाएको छु । हिजोका दिनमा कमर्सियल भेहिकल, प्यासेन्जर साना–ठूला गाडीको सेग्मेन्टमा आईसीई इन्जिनको बर्चस्व थियो ।
यद्यपि नेपाली बजारमा सन् २०१४/१५ देखि भारतबाट गाडी आउने क्रम उच्च हुँदै गएको हो । नेपालीहरूको क्रय शक्ति बढ्दै जाँदा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, ठूला सवारीको प्रयोग सोही अनुरूप हुन थाल्यो । जीवनशैलीमा अटोमोबाइललाई आचरणको रूपमा लिन थाल्यो । जसले आम नागरिकको दैनिकीमा सहजीकरण थप्यो ।
यातायातको पहुँच बढ्दै जाँदा व्यक्तिगत व्यवसाय प्रवर्द्धन, प्रगति, देशको विकासमा योगदानमा सहजता आउँदै गरेको अवस्थामा कोभिड–१९ ले यो क्षेत्रलाई निकै तहसनहस बनायो । संसारभरका देशको आर्थिक वृद्धि दरमा ह्रास आई मान्छेको आम्दानी घटिरहेको अवस्थामा चाइनाले ईभी गाडी तयार गर्यो । र, ग्लोबल मार्केटमा पठाउन थाल्यो ।
डिजेल, पेट्रोल आदिको मूल्य वृद्धि भइरहेको अवस्थामा ईभी गाडीको मार्केट बढ्दै गयो । नेपालमा पनि कोभिडपछि बैंकमा देखिएको अत्यधिक तरलताले बजारमा क्यास फ्लो बढेको महसुस भयो । जसले गर्दा घर जग्गाको कारोबारका साथै सेयर बजार मार्केट बढ्यो । त्यो बेलादेखि नै नेपाली बजारमा पनि ईभी गाडी भित्रिसकेको अवस्था हो ।
वार्षिक १० हजार ईभी नेपाल भित्रियो भने त्यसमा झण्डै ७ हजार गाडी चीनबाट आउँछ ।
अर्थतन्त्रलाई उकास्नु पर्छ भन्ने मान्यता राखी बैंकबाट तानिएको पैसालाई सहज तरिकाले बजारमा पठाउने काम भयो । र, सन् २०२१ मा अर्थतन्त्रका हरेक सूचाकाङ्क उच्च बिन्दुमा पुग्यो पनि । त्यति हुँदै गर्दा आयात घाटा, निर्यात कम हुँदा नेपाल राष्ट्र बैंकले गाडी लगायत विभिन्न बिलासी बस्तु निश्चित समयको लागि प्रतिबन्ध लगायो । त्यसले प्रत्यक्ष अटोमोबाइल बजारलाई प्रभावित बनायो ।
म पनि लोकल ब्रान्डका डिलर चलाएर काम गर्दा वर्षमा १/२ सय गाडी बिक्री हुने ठाउँमा न्यून बिन्दुमा बिक्री संख्या पुग्यो । बैंकहरुले ऋण प्रवाहलाई कडाइ गरेर ८/९ प्रतिशतको ब्याजदरलाई १६ प्रतिशतसम्म पुर्याइदियो । पछिल्लो ३ वर्ष अटोमोबाइल बजार यसरी नै सकसपूर्ण अवस्थाबाट गुज्रियो ।
हरित ऊर्जाको उत्पादन देशमा बढ्दा, जसको खपतका लागि ईभी निकै उपयुक्त माध्यम हो । हरेक पक्षबाट आकलन गरी ग्राहकले पनि ईभी चढ्ने रफ्तारलाई बढाइरहेका छन् । सरकारले आयातमा दिएको सहुलियत र नेपाल राष्ट्र बैंकले ऋणमा बनाइदिएको सहुलियतले ईभीलाई प्रोत्साहन मिलेको छ । बैंकबाट अहिले ८० प्रतिशतसम्म लोन प्रवाह भइरहेको छ ।
प्रत्येक वर्ष र महिना ईभीको आयतको संख्या बढ्दो क्रममा छ । यसले अटोमोबाइल बजार नयाँ बाटो र नयाँ क्रान्ति रच्दै गरेको अनुमान गर्न सकिन्छ । हिजोको दिनमा जुन सेल्स आईसीई इन्जिन गाडीको थियो । त्यो सेल आज ईभीको छ । नेपाली ग्राहकले सबै भन्दा चाँडो ग्रहण गरेको सवारी ईभी बनेको छ ।
वार्षिक १० हजार ईभी नेपाल भित्रियो भने त्यसमा झण्डै ७ हजार गाडी चीनबाट आउँछ । चीनका ग्लोबल ब्रान्ड पनि प्रशस्त नेपाल आइसकेका छन् । ईभीको प्रयोग गढ्दै जाँदा यसका विषयहरूलाई लिएर शंका, आशंका प्रशस्त छन् । हामीले ग्राहकहरूका ति शंका निवारण गर्नका लागि गर्नुपर्ने काम धेरै छन् ।
ग्लोबल ब्रान्ड किन ?
नेपालमा ईभीका थुप्रै ब्रान्ड भित्रिएका छन् । जुन ग्लोबल ब्रान्ड हो, होइन । त्यो ग्राहकलाई थाहा हुँदैन । ग्लोबल ब्रान्डको एउटा मानक र स्थापित स्ट्यान्डर हो । त्यस्ता गाडी डेडिकेटेड ईभी प्ल्याटर्फममा तयार गरिन्छ । जुन ग्राहकले पनि बुझ्न जरुरी छ । हिजोको दिनमा उक्त गाडी पेट्रोल वा डिजेलमा बनिरहेका थिए । तर, ईभीको ट्रेन्ड बढ्दै गएपछि निर्माता कम्पनीले ईभी बनाउनु पर्छ भनेर सोही प्ल्याटर्फममा ईभी गाडी बनाएको हुनसक्छ ।
पेट्रोल गाडीको गियर बक्स र इन्जिन झिकेर सोही प्ल्याटर्फममा ईभीमा सामान राखेर बेचिएको पाइन्छ । जसले गर्दा ईभीको असली स्वाद ग्राहकले चाख्न पाउँदैनन् । ति प्ल्याटर्फममा बनेका गाडी चलाउँदा हलुका छ, चलाउँदा स्टेरिङ थर्कियो भनेर ग्राहक आफै भन्नुहुन्छ ।
हतारमा बनाइएका प्रडक्टले ग्राहकको अधिकतम सन्तुष्टिलाई पूरा गर्न सक्दैन । त्यसैले अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा ग्लोबल ब्रान्डका गाडी बनाइने भएकाले त्यस्ता गाडी रोज्न सकिन्छ । नेपालमा गाडी ल्याउँदा कुनै मापदण्ड छैन । यहाँ ईभी वा आईसीई गाडी ल्याउँदा बोरामा गाडी हालेर ल्याएको जस्ता ऐन छ । मलाई गाडी ल्याउन मन लाग्यो, गाडी ल्याएर यहाँ मज्जाले बेच्न हाम्रो कानुनले दिन्छ ।
हरित ऊर्जाको उत्पादन देशमा बढ्दा, जसको खपतका लागि ईभी निकै उपयुक्त माध्यम हो ।
भनेपछि यसलाई गाडी भन्दा पनि झोला व्यापार भन्दा भयो । आधिकारिक वितरक नियुक्ति भएपछि गाडी बिक्री गर्न पाइन्छ । कतिपय गाडी वितरक भोलिका दिनमा गाडी बिक्री नभएर बन्द भएभने बिक्री भइसकेका गाडीको जिम्मा कसले लिन्छ ? आफ्ना देशका नागरिकले कुनै सामान उपभोग गर्छन् भने त्यसबाट कुनै समस्या हुनहुँदैन भन्ने चिन्ता सरकारले लिनुपर्ने हो ।
तर, यस्ता त्रुटिपूर्ण कुराले ईभी सहज रूपमा आयात भए । आलुको बोरा किन्न गएको ५ वटा गाडी भए पनि बेची खन्छु भन्ने तरिकाले गाडी ल्याउँदा यसका नकारात्मक टीकाटिप्पणी बढ्दै गए । ग्राहकको आत्मविश्वास घट्दै गयो । गाडी बिक्नु मात्र ठूलो कुरा होइन । बिक्री पछि सेवा सुविधा, ग्राहक सन्तुष्टि र त्यो प्रडक्ट प्रति आत्मविश्वास बढ्नु ईभी बिक्रेता कम्पनीको महत्वपूर्ण भूमिका हुन्छ । ईभीको पार्ट्स महँगो बेचेको, ब्याट्री गाडी भन्दा महँगो भएका खबर आइरहेका छन् । त्यो कुराले पनि ग्राहक त्रसित भइरहेका देखिन्छ ।
ईभीको पार्ट्स आयात गर्दा स्ट्यान्डर्ड मापनको व्यवस्था गरी सहुलियत दिँदा पार्ट्स पनि सस्तो मूल्यमा उपलब्ध हुन्छ जस्तो मलाई लाग्छ । ईभी बिक्दा देशको जीडीपीमा पनि योग्दान पुग्ने भएकाले यसको प्रयोगलाई बढाउनु सकारात्मक पक्ष हो ।

ब्याट्रीमा चिन्ता छैन
ईभी गाडीमा अहिले अधिकांश कम्पनीले ब्याट्रीमा ८ वर्षको वारेन्टी भएका छन् । केहीले १० वर्षको वारेन्टी पनि प्रदान गरिरहेको अवस्था हो । कम्पनीको तर्फबाट त्यो उच्चतम आत्मविश्वास रूपमा हेर्न सकिन्छ । ईभी गाडीको ब्याट्रीमा छोटो समयमै समस्या आउँदैन भनेर उत्पादक कम्पनीहरू पनि विश्वस्त छन् । यदि वारेन्टी अवधिमा ब्याट्री बिग्रिएको खण्डमा फेरिदिन कम्पनीहरू तयार छन् ।
गाडीको ब्याट्री राम्रोसँग चलाइयो भने १५/२० वर्ष पनि चल्छ । तर, ब्याट्री हेल्थ ८० प्रतिशत भन्दा माथि हुनुपर्याे । यदि ब्याट्री हेल्थ त्यो भन्दा मुनि आयो भने गाडी नकुद्ने भन्ने हुँदैन । गाडी चली राख्छ । गाडी हेल्थ ५० देखि ६० प्रतिशतसम्म आउँदा पनि गाडी गुड्छ । तर, त्यो अवस्थामा ब्याट्रीको सिस्टम परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
ब्याट्रीमा भएका ड्यामेज सेल्सहरूलाई मर्मत गरी पुन सुचारु गर्न सक्ने अवस्थाको प्रविधि आइसकेको छ । विश्व बजारमा ब्याट्री उत्पादन गर्ने कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दा मूल्य घट्न सक्ने आधार धेरै देखिन्छन् । प्रयोगसँगै ब्याट्री व्यवस्थापनको विषयलाई लिएर धेरैले चुनौतीका रूपमा हेरिका छन् । तर, निर्माता कम्पनीले आफैले ब्याट्री फिर्ता लाने कमिट हामीसँग गरेको हुँदा व्यवस्थापनको विषयमा धेरै समस्या नहुने देखिन्छ ।
छोटो समयमा ईभी बजारले लिएको उचाइले अबको भविष्य ईभीकै रहेको झल्काउँछ । तर, नीति निर्माण तहमा समस्या पनि देखिन्छ ।
तर, यही ब्याट्री व्यवस्थापन गर्न लाग्यो भने सम्भव छैन । किनभने ब्याट्री व्यवस्थापनको प्लान्ट स्थापनाको लागि ठूलो लगानी लाग्नुका साथै फिजिबल यहाँ देखिँदैन । अहिले विकसित मुलुकहरूका निश्चित देशसँग मात्र सोही अनुसारका प्लान्ट छन् । ब्याट्री व्यवस्थापनको सजिलो उपया भनेकै उत्पादकलाई फिर्ता गरेर पठाइदिने हो ।
छोटो समयमा ईभी बजारले लिएको उचाइले अबको भविष्य ईभीकै रहेको झल्काउँछ । तर, ईभीको नीति निर्माण तहमा राम्रै समस्या देखिन्छ । नीति निर्माताले यो क्षेत्रमा देखाएको चासो निकै फितलो छ । सरकार र नीति नियम तह बसेर काम गर्नेहरू स्थायित्व हुन नसक्दा पनि यस्तो समस्या देखिन्छ ।
विगत ४-५ वर्षको दौरानमा २/३ जना अर्थमन्त्री फेरिसक्नु भयो । कसैले ईभीको कर रकेटको तरिकाले घटाउनु भयो, कसैले बढाउनु भयो । तर, अर्थमन्त्रीले स्थायित्व, नीति, भिजन तयार गर्न सक्नु भएन । बोर्डका निर्देशक वा सरकार परिवर्तन हुँदा आकस्मिक रूपमा ऐन कानुनहरू परिवर्तन हुने पद्धति छ । त्यसले आम व्यवसायीको मनोबललाई गिराएको छ । र, हतोत्साहित पनि बनाएको छ । स्थायित्व नीति व्यवस्थापन भयो भने ई-मोबिलिटीको बजार अझै बढ्छ ।
अहिलेको अवस्था हेर्दा ईभी व्यवसायीहरूले नेपालको अटोमोबाइल उद्योग क्रयास हुनबाट जोगाएका छन् । जसरी हामी सेयर बजारमा नेप्से घट्यो, बढ्यो वा बुल, बियरका कुरा गर्छौं । अटोमोबाइलमा त्यो टर्म नबनेर मात्र चर्चामा नआएको हो । हेर्ने हो भने अटोमोबाइलको व्यापार पनि बुल र बियर भएको छ । पछिल्लो समय पेट्रोल गाडी बेच्ने बियरको बियर भएर उहाँहरू कहाँ छिरीसक्नु भयो थाहा छैन ।
अटोका डिलरहरू धेरै जसो व्यवसायीले बन्द गरेर पलायन भइसकेको अवस्था छ । त्यहाँ व्यवसायी मात्र पलायन भएको हैन, त्यहाँ काम गर्ने सयौं कर्मचारीले रोजगारी गुमाएका छन् । ईभी विश्व बजारमा तयार भएपछि पेट्रोल बेच्ने पनि ईभी ल्याउन थाल्नु भयो, हामी जस्ता नयाँ व्यवसायी बजारमा प्रवेश गर्यौं । अन्य व्यवसायी पनि प्रवेश गर्दै हुनुहुन्छ । नेपालमा अब ईभी गाडी अपरिहार्य जस्तै बन्दैछ । त्यसैले ईभी मार्केट ग्रोथ अझै बढ्ने देखिन्छ ।
सेकेन्ड ह्याण्डमा ईभी बिक्ला !
अटोमोबाइलको साइकल घुमिरहेको छ । ३० देखि ४० वर्ष लामो इतिहास बोकिसकेको आईसीईको छेउमा ईभी बिल्कुलै नयाँ हो । उक्त गाडीलाई सेकेन्ड ह्यान्डमा बिक्री गर्दा राम्रै मूल्याङ्कन हुन्छ । विकसित राष्ट्रहरूले पनि ईभीको प्रविधिलाई आफ्नोमा नहुँदा चाइनिज प्रडक्टको त्यहाँ बर्चस्व हुँदै आएको छ । कतिपय देशले प्रवेश नै निषेध गरेको अवस्था छ ।
तर, ईभीले त्यो अनुरूपमा भ्यालुएसन पाउँछ कि पाउँदैनन् होला भन्ने चिन्ता प्रयोगकर्तामा छ । यद्यपि ईभी नयाँ प्रविधि भएकाले अहिले नै सेकेन्ड ह्याण्डमा धेरै पुगेको छैन । १/२ वटा पुगेता पनि उक्त गाडीमा समस्या आएर बेचेको हो वा केही खराबी पक्कै आएको आशंका गरिन्छ । तर, त्यो गाडी चालक विदेश वा आर्थिक समस्याले बेचेको हुन्छ भनेर सोचिँदैन । समग्रमा भन्ने हो भने आईसीई सेकेन्ड ह्याण्ड गाडी सोसरह ईभीको हिस्सा बन्दैछ ।
आज तपाईंलाई ईभीमा राम्रो कुनै ब्रान्डको सेकेन्ड ह्याण्ड गाडी किन्नु पर्यो भने भेट्नु हुन्न । ईभीको भ्यालुएसनको सिस्टममा रिकन्डिसन पनि छैन । हाम्रोमा ब्याट्री हेल्थ नाप्ने उपयुक्त संयन्त्र नहुँदा रिकन्डिसन व्यवसायीहरूले पनि कुन आधारले ब्याट्री हेल्थ कति भनेर नाप्ने उपयुक्त माध्यम छैन । उहाँहरूले ब्याट्रीको मुल्याङ्कन गरेर गाडी सेकेन्ड ह्याण्डमा किनी राख्नुभएको छ ।

प्रिमियम गाडी किन्नेको लागि स्काईवेल
स्काईवेल गाडी नेपाली बजारमा ल्याउनु अगावै उक्त कम्पनीको अवस्था साथै ग्लोबल मार्केटमा त्यसको उपस्थिति आदि विषयको मध्यनजर गरेर ल्याएका हौं । स्काईवेल चाइनाको एकदमै ठूलो कम्पनी हो । चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट स्काईवेल हो । अहिले हामीले ‘स्काईवेल ड्राइभ-२०२५ नेपाल टु युरोप’ क्याम्पेन सञ्चालनमा ल्याएका छौं ।
यो क्याम्पेनमा सहभागी भई स्काईवेलको गाडी किन्दा र टेस्ट ड्राइभ गर्दा युरोप घुम्ने अवसर तपाईंले पनि प्राप्त गर्न सक्नुहुनेछ । स्काईवेल ठूलो ब्याट्री र आरामदायक इन्टेरियरले गर्दा प्रायः टुर जाने वा कामको सिलसिलामा धेरै ट्राभल गर्ने मानिसका लागि उपयुक्त हुन्छ । अन्य देशमा जाने र हाम्रो देशमा आउने स्काईवेल गाडीको गुणस्तर एउटै हो ।
हाम्रोमा ब्याट्री हेल्थ नाप्ने उपयुक्त संयन्त्र नहुँदा रिकन्डिसन व्यवसायीहरूले पनि कुन आधारले ब्याट्री हेल्थ कति भनेर नाप्ने उपयुक्त माध्यम छैन ।
तर, यो प्रडक्ट मूल्यका हिसाबले केही महँगो छ । किनभने हाई प्रोफाइल भएका कस्टुमरको टीजी भएको प्रोडक्ट हो । लग्जरी, टेक्नोलोजी र स्टाइल मन पर्छ भने स्काईवेल ईटी५ निकै उपयुक्त गाडी हो । एक पटकको फुल चार्जमै ६२० किलोमिटरको रेन्ज दिन्छ । प्रिमियम चिज उचित मूल्यमा चाहनेहरूको लागि स्काईवेल उचित छ । यो पियोर एसयूभी भएकाले हामीसँग धेरै ग्राहकहरुको पनि जोडी सक्नुभएको छ ।
देशका प्रमुख सहरहरूमा स्काइवेलको शोरुम सञ्चालनमा आइसकेका छन् । दुई वटा सर्भिस सेन्टरबाट स्काईवेल प्रयोगकर्तालाई सर्भिस उपलब्ध गराइरहेका छौं । हामीसँग पार्ट्स पनि पर्याप्त उपलब्ध छन् । पार्ट्सको उचित मूल्यको निर्धारण गरी ग्राहकालाई सन्तुष्ट बनाउने गरी सर्भिस दिइरहेका छौं ।
(गेलाल जी मोटर्सका प्रबन्ध निर्देशक हुन्, उनीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)































प्रतिक्रिया