सडक सुरक्षा सुधारका लागि मन्त्रालयको पहल, साझेदारहरूसँग समीक्षा बैठक सम्पन्न

सडक सुरक्षा सुधारका लागि मन्त्रालयको पहल, साझेदारहरूसँग समीक्षा बैठक सम्पन्न

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धि मन्त्रीस्तरीय सम्मेलनका सहभागीहरूको समीक्षा बैठक सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको उक्त बैठकमा सम्मेलनमा नेपालले गरेको सडक सुरक्षा सम्बन्धी प्रतिबद्धता कार्यान्वयनका लागि विभिन्न सरकारी, गैर–सरकारी तथा पेशागत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) साउथ एशियाका डा. तासी, डब्लुएचओ नेपालका डा. ग्यापो दोर्जी, मन्त्रालयका सह–सचिवहरू सुशिल बाबु ढकाल र कृष्ण राज पन्थ, नेपाल अटोमोवाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गाविन्द भट्टराई, डा. सुनिल जोशी, स्वतन्त्र अभियान नेपालकी रितु भट्ट, सडक विभागका शुभराज न्यौपाने, मोटरिङ्ग नेपालका किरण धिताल तथा यूथ फर रोड सेफ्टी इन नेपालकी मनिका वम्मालगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

बैठकमा नागरिक समुदायबाट सडक सुरक्षाका क्षेत्रमा भइरहेका पहलहरू प्रस्तुत गरिनुका साथै मन्त्रालय अन्तर्गत सडक सुरक्षा सम्बन्धी भइरहेका कार्यहरू र मन्त्रीस्तरीय बैठकको निष्कर्षलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

मन्त्रालयका अधिकारीहरू र सडक सुरक्षा परिषद्का प्रतिनिधिहरूले सडक सुरक्षाका लागि भएका प्रयासहरूबारे जानकारी गराएका थिए। बैठकमा दिगो सडक र सुरक्षित यातायातका लागि नेपाल सरकारसँगै दातृ निकाय, पेशागत र गैरसरकारी क्षेत्रको सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो।

हाल नेपालमा मोटरसाइकलको संख्यामा भएको वृद्धि र त्यससँगै बढ्दो दुर्घटना तथा नकारात्मक प्रभावलाई मध्यनजर गर्दै डब्लुएचओका अधिकारीहरूले गुणस्तरीय र डबल हेल्मेटको आवश्यकता र त्यसको सफल कार्यान्वयनबारे आफ्ना अनुभवहरू राखेका थिए ।

बैठकमा सहभागीहरूले दर्जनौं अन्तर्राष्ट्रिय अभिसन्धिहरूको अनुमोदन र कार्यान्वयन, सडक सुरक्षा ऐन र परिषद्को प्रभावकारी भूमिका तथा सार्वजनिक यातायातको सुधारका लागि मन्त्रालयले थप सक्रियता देखाउनुपर्ने सुझाव दिएका थिए। सडक सुरक्षा परिषद्का सरोज प्रधानले सहजीकरण गरेको उक्त बैठकले निकट भविष्यमै सडक सुरक्षाका लागि साझा रणनीति तयार गर्ने निष्कर्ष निकालेको छ।

Logo