‘सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रशय दिएको भन्ने आरोप भ्रमपूर्ण’ : प्रधानमन्त्री

‘सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रशय दिएको भन्ने आरोप भ्रमपूर्ण’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रशय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएका हुन् । त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्न समेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गरे । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको बताए । त्यसैले सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उनको भनाई छ । राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पारे । तर राज्यले उद्योगी व्यवसायीहरुसँग सधैं कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको प्रधानमन्त्री ओलीले बताए ।

सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताए। राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नु पर्ने बाध्यता भएको पनि उनले बताए । देशमा पूँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न समेत उनले आग्रह गरे । देशमा लगानीका अवसर सिद्धिएको नभई झन बढेकाले देश भित्रै लगानी बढाउन सुझाव दिए। अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्रीले स्पष्ट पारे।

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाई परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताए । कोरोनाको असरलाई राहत पुर्याउन अन्य देशका सरकारले ठूलो रकम विनियोजन गरेको तर हामीले पाएनौं भन्ने लाग्न सक्ने स्वभाविक भएको बताए। सरकार मनको गरिब नभई आफ्नो क्षमता र गक्ष अनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको बताए । उनले गक्ष भन्दा एक कदम अगाडी बढेर सरकारले सहयोग गरेपनि बचत नभएका कारण त्यो थोरै हुने बताए। तरपनि सबैपक्ष मिलेर एकसाथ नहिंडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उनको भनाई छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाई भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । उद्योग व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताए ।

Logo