काठमाडौं । मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।
एनसेल फाउन्डेसनले उनको यस साहस, संकल्प र शक्तिको अनुपम उदाहरणको लागि हार्दिक सम्मान प्रकट गरेको छ। पेम्बा शेर्पा मृर्गौला प्रत्यारोपण पछि सगरमाथाको सफल आरोहण गर्ने विश्वका पहिलो व्यक्ति हुन्।
पेम्बा शेर्पाले वैशाख ३१ गते (मे १३, २०२४) बिहान सगरमाथाको शिखर चुम्न सफल भएका थिए। उनको यो सफलताले दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैनन् भन्ने सशक्त सन्देश दिएको छ।
एनसेल फाउन्डेसनले पेम्बा शेर्पाको यस साहसी यात्रामा सहभागी भई आवश्यक सहयोग गर्न पाएकोमा गर्व महसुस गरेको छ । यो यात्रा एक व्यक्तिगत विजय मात्र नभई शारीरिक चुनौती भोगिरहेकाहरूका लागि आशाको उज्यालो साबित भएको छ र मानिसहरुमा रहने असीम सम्भावनाहरुलाई पुष्टि गरेको छ । यसका साथै, यो यात्राले जलवायु परिवर्तनका कारण संकटमा परेका हिमालहरूको संरक्षणको लागि जनचेतना फैलाउने महत्त्वपूर्ण कार्य गरेको छ।
सगरमाथाको सफल आरोहण पछि आफ्नो उत्साह व्यक्त गर्दै पेम्बा शेर्पाले भने, “सगरमाथा आरोहणभरि मेरो स्वास्थ्य सबल रह्यो । यस यात्रामा मैले विश्वभरका ८५ करोड भन्दा बढी मिर्गौला रोगीहरूको आशा बोकेर सगरमाथाको चुचुरोमा पाइला राखें र ईच्छा गरेमा केही पनि असम्भव छैन भन्ने कुरालाई पुरा गर्न सफल भएँ। यो यात्रा पग्लिंदै गएको हाम्रो हिमाल जोगाउनको लागि पनि एउटा सन्देश थियो। मैले धेरैलाई गुहारें, तर मेरो सपनालाई एनसेल फाउन्डेसनले मात्र विश्वास गरेर सम्भव बनायो। म साथ र समर्थनका लागि हृदयदेखि आभारी छु।”
एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “पेम्बा शेर्पाको यस ऐतिहासिक सफलताका लागि हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौं। उहाँको यात्रा प्रेरणा, सहनशीलता र प्रतिबद्धताको कथा हो— यो केवल एक व्यक्तिगत लक्ष्यप्राप्ति मात्र नभई विश्वव्यापी जलवायु मुद्दाप्रति एक आह्वान पनि हो। यस महत्वपूर्ण यात्राको सहयात्री हुन पाएकोमा हामी निकै खुसी छौं।”
पेम्बा शेर्पाको यो आरोहणले हिमालहरू केवल आरोहण गरेर सफलता चुम्ने शिखरहरु मात्र नभई, तिनीहरू हाम्रो पर्यावरणको प्रतीक हुन् र संरक्षणका लागि हामी सबैले मिलेर प्रयास गर्नुपर्छ भन्ने सन्देश विश्वलाई दिएको छ।
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ। समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मूलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ। काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ। आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फाउन्डेसन प्रतिबद्ध रहेको छ।
हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलहरू मार्फत सकारात्मक प्रभाव पारेको छ।





























प्रतिक्रिया