नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो । समारोहका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए।

उद्घाटन मन्तव्यमा उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए । ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन् ।बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर सञ्चालन भइराख्नु पर्दछ,’ उनले भने।

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए । ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु,’ उनले भने, ‘यसवाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ ।’

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र वोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे। उनले पुँजी बजार सुद्धीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी सिडिएस एन्ड क्लियरिंग लि. का उपप्रबन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्यौट, नेप्सेका सहायक आइटी प्रवन्धक निशा तिमिल्सिनाले नट्स सञ्चालन, नेप्सेका सहायक आइटी प्रवन्धक निरन्जन सिंह नायकले टिएमएस सञ्चालन, नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले दोश्रो बजार सम्बन्धी कानुनी व्यवस्था र नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोश्रो बजार कारोवार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा नेप्सेका प्रवन्धक लिलाधर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।

Skip This
Skip This
Logo