ललितपुर । आईएमई लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा राजधानीमा एक विशेष समारोह आयोजना गर्दै संस्थाको गौरवपूर्ण यात्राको उत्सव मनाएको छ ।
वार्षिक उत्सवमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा उनले आइएमई लिमिटेडले देशको आर्थिक मात्र होइन, सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देश विकासका लागि आइएमईको संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकाल र सह–संस्थापक अध्यक्ष हेमराज ढकाल जस्तै रिक्स टेकर उद्योगीहरुको आवश्यकता रहेको बताए ।
गभर्नर पौडेलले आईएमईले सिर्जना गरेको रोजगारी, सेवा प्रवाह र स्थानीयस्तरको विकासले नेपाललाई एक समावेशी र समतामूलक समाजतर्फ लैजान सहयोग पुगेको पनि बताए ।
उनले थपे, ‘आइएमईले सिर्जना गर्नुभएको रोजगारी, बैंकिङ, फाइनान्स, हस्पिटालिटी, रेमिट्यान्सदेखि पर्यटनसम्म केवल जागिर मात्र नभई, जीवनशैली र आत्मसम्मान पनि हो ।’
टेक्नोलोजी, पहुँच र पुँजी विस्तारमा राष्ट्र बैंक सधैं सहयोगी रहने वाचा समेत गरे ।
आइएमईका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले कम्पनीको आधारभुत तिन सिद्धान्त सरकारको प्राथमिकता पाउनुपर्ने, आम नागरिकको समर्थन र हित सुनिस्चित हुनुपर्ने र आफैमा टिकाउ व्यवशाय हुनुपर्ने यहि आधारमा आइएमईले व्यवशाय विस्तार गर्दै आएको बताए ।
उनले सुरुवाती दिनलाई सम्झिँदै भने, ‘आइएमईको यात्रा सानो कोठाबाट सुरु भएको थियो । आजको सफलता हेर्दा त्यो दिन सपना जस्तो लाग्छ । हामी केवल नाफाका लागि काम गरेका छैनौं । सरकार जनताको हित र दिगो व्यवशायिकता हाम्रो मुल मन्त्र हो ।’
त्यसैगरी आइएमईका सह–संस्थापक अध्यक्ष हेम राज ढकालले रेमिट्यान्सले नेपालको जीडीपीमा पुर्याएको योगदानबारे चर्चा गर्दै, यो सेग्मेन्टलाई अझ प्रभावकारी बनाउन नीति–निर्माताहरूले टेक्नोलोजीमैत्री र उद्यमशीलता–प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले अहिलेको रेमिट्यान्स प्रणालीलाई डिजिटल इकोनोमीसँग जोड्दै, नेपालमै बसेर विश्वभर सेवा दिन सक्ने युवा पुस्ताको क्षमता र आकांक्षालाई समर्थन गर्न राष्ट्र बैंक र सरकारसँग आग्रह समेत गरे ।
पेपाल, स्ट्राइप जस्ता प्लेटफर्ममा नेपाली आईटी कम्पनीहरूले खाता खोल्न नपाउनु दुःखद् रहेको भन्दै उनले प्रविधिमा आधारित उद्यमशीलता प्रोत्साहन गर्न बाधक नीतिहरू सच्याउन पनि आग्रह गरे ।
हालैको बजेटमार्फत नेपाली आईटी कम्पनीहरूलाई विदेशमा कार्यालय खोल्ने अनुमति दिइनु स्वागतयोग्य कदम भएको उल्लेख गर्दै, राष्ट्र बैंकको नेतृत्वमा यस परिवर्तनलाई संस्थागत गर्दै लैजानुपर्ने धारणा राखे ।
यसैगरी सह–संस्थापक अध्यक्ष ढकालले आइएमईको सफलताको श्रेय सम्पूर्ण टिम, सहकर्मी, परिवारजन र देश–विदेशका एजेन्टहरूप्रति समर्पण गर्दै आगामी २५ वर्ष अझ नवप्रवर्तन, टेक्नोलोजी र उद्यमशीलता–केन्द्रित बनाउन प्रतिबद्धता व्यक्त गरे ।
आइएमईको वार्षिक उत्सवमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आईएमई लिमिटेडका सञ्चालकहरू, आईएमई गु्रपअन्तर्गतका विभिन्न कम्पनीका सीईओ, डीसीओहरू, विदेशस्थित आइएमईका साझेदार कम्पनीका प्रतिनिधिहरू, आईएमईका ब्रान्ड एम्बेसेडर दीपक राज गिरी र दीपा निरौला, आईएमईका सहकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।































प्रतिक्रिया