काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीको प्रधान कार्यालय थापाथलीमा जेष्ठ ३० गते आयोजित सो कार्यक्रममा सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति तथा सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। काठमाडौं बाहिर रहेका प्रदेश प्रमुख र शाखा प्रबन्धकहरू अनलाइनबाट सहभागी भएका थिए।
नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछाने र उपनिर्देशक पदमप्रसाद सोडारीले कार्यक्रमको प्रस्तुति दिएका थिए। कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले कार्यक्रम संयोजन गरेका थिए।
प्रस्तुतिमा ग्राहक पहिचान फारम अद्यावधिक गर्ने, आय स्रोतको विवरण संकलन गर्ने, गैरकानुनी कमाईलाई बीमामार्फत सेतो बनाउने प्रक्रियालाई नियन्त्रण गर्ने विधिहरू, शंका लागेका कारोबारको रिपोर्टिङ कसरी गर्ने लगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण रोकथामको महत्त्वबारे चर्चा गर्दै सबै कर्मचारी र अभिकर्ताले कानुनी दायित्व पालना गर्नु अनिवार्य रहेको स्पष्ट पारे । उनले यस्तो कार्यक्रम देशभर विस्तार गर्दै जाने र शाखा तथा क्षेत्रीय कार्यालयसम्म पुर्याउने योजनाबारे जानकारी दिएका छन्।
सिटिजन लाइफले यसअघि पनि यस्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीको दाबी छ— बीमा क्षेत्रलाई पारदर्शी, सुरक्षित र उत्तरदायी बनाउने दिशामा यस्ता अभ्यासहरूले सकारात्मक प्रभाव पार्नेछ।































प्रतिक्रिया