काठमाडौं । स्थानीय तहहरुमध्ये सबैभन्दा ठुलो आकारको बजेट ल्याउने काठमाडौँ महानगरपालिकामा कार्यपालिका बैठक नै बस्न नसकेपछि बजेट पेश गर्नुपर्ने आज अन्तिम दिनमा पनि बजेट आउन सकेन ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याइसक्नुपर्छ। यसरी हिसाब गर्दा स्थानीय तहले बजेट ल्याउने आज मंगलबार अन्तिम दिन हो। धेरै पालिकाहरूले यसअघि नै बजेट ल्याइसकेका छन् भने कतिले आज सार्वजनिक गरे । तर काठमाडौंले भने आज पनि बजेट ल्याउन नसकेको हो ।
पालिकाहरूले आफ्नो बजेट नगर वा गाउँ सभामा प्रस्तुत गर्नुपर्छ। बजेट प्रस्तुत गर्ने काम उपमेयर वा पालिका उपाध्यक्षको हो। तर नगर वा गाउँ सभाको बैठक बोलाउने काम मेयर वा पालिका अध्यक्षको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा १ मा कार्यपालिका बैठक कम्तीमा महिनाको एकपटक बस्ने व्यवस्था छ । तर, आन्तरिक विवादका कारण साधनस्रोत र जनसंख्याको हिसाबले देशकै ठूलो महानगर काठमाडौंमा भने पछिल्ला महिनाहरुमा न त कार्यपालिका बैठक नै बस्न सकेको छ न त बजेटमा अहिलेसम्म कुनै छलफल हुन सकेको छ । मेयर बालेन शाहले अहिलेसम्म काठमाडौं महानगरपालिकाको सभा बैठक बोलाएका पनि छैनन्। सभा बैठकको सूचना मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले जारी गर्छन्।
तर मेयर बालेन र प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईबिच बोलचाल नभएपछि बालेनले उनलाई त्यस्तो कुनै निर्देशन नै दिएका छैनन्। उनले बैठक नबोलाएपछि उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने ठाँउ पनि छैन।
पछिल्लो समय मेयर बालेनको महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँसँग सम्बन्ध बिग्रिएको कारण उनले बैठक नबोलाएका हुन् । त्यससगैैं उनको उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुसँग पनि सम्बन्ध राम्रो छैन । तर, गत जेठ २७ गते मेयर बालेन र उपमेयर डंगोलबीचको गोप्य छलफलपछि भने महानगरका कामकाज केही सकारात्मक हुने दिशामा अघि बढ्ने अपेक्षा गरिएको थियो । तर, हालसम्म मेयर बालेनले बजेट पेश गर्ने कुरामा कुनै सुरसार नदेखाउँदा वडाध्यक्षहरू पनि यस विषयमा अन्योलमा परेका छन् ।
यता काठमाडौंपछि सबैको नजरमा परेको सुनसरीको मेयर हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिका निर्धारित मितिमा बजेट ल्याउन विफल बनेको छ। उनको पनि उपमेयर अइन्द्रविक्रम बेघासँगको आन्तरिक झगडाले बजेट आउन नसकेको हो । राजस्व परामर्श समितिको वैशाख ३० मा सम्पन्न बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ। समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने बताएको थियो। तर बैठक बोलाउने सुरसार छैन ।





























प्रतिक्रिया