रोपाइँ सुरु भयो, तर छैन मल र पानी

रोपाइँ सुरु भयो, तर छैन मल र पानी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । समयमा वर्षा नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो हुन पुगेको छ । सिंचित क्षेत्रमा रोपाइँ भए पनि आकाशे वर्षाको भरमा रहेका किसानहरुले अझै पनि खेत रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ वटा जिल्लाहरु मध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया जस्ता तराईका जिल्लाहरु धान खेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोश्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको असार ६ गते सम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यस मध्ये ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार ५ सय २५ हेक्टरमध्ये ५ हजार ३१८ हेक्टरमा धान रोपाइँ सकिएको छ । यस्तै, रोल्पामा ४ हजार ५ सय ४७ हेक्टर मध्ये १ हजार ८२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । २० हजार ४ सय हेक्टर मध्ये ८ हजार १ सय ९२ हेक्टरमा धान रोपाई सकिएको छ । रुकुमपूर्वमा ३५४ हेक्टर मध्ये १०६, पाल्पामा ८ हजार २ सय १० मध्ये ४११ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै, रुपन्देहीमा ६० हजार ५ सय ६७ मध्ये ६ हजार ५८, कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टर मध्ये ५२७ हेक्टर अर्थात १ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांकले देखाउछ । दाङमा ३७ हजार २ सय २५ मध्ये १ हजार ४८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबार सम्म रोपाइँ नै सुर हुन सकेको छैन । बाँकेमा ३४ हजार ७११ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । बर्दियामा ५० हजार १५० हेक्टर मध्ये ४ हजार २६३ हेक्टर, गुल्मीमा ७ हजार ५३९ मध्ये ३९१ र अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर मध्ये ६७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

सबै भन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ्ग र बाँके जस्ता जिल्लाहरुमा अझै पनि अधिकांश खेतहरु बाझै रहेका छन् । लुम्बिनीमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४ सय ४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा २ लाख ७६ हजार ८ सय १९ हेक्टर क्षेत्रफल मात्र सिंचित क्षेत्रफलको रुपमा रहेको छ ।

कुल ग्राहस्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार संख्या रहेको छ । रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण हैन् । कृषकहरुले समयमा मल पाएनन्, ईन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखी लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महङ्गो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

भैरहवा स्थित कृषि सामाग्री कम्पनीमा मलको अभाव रहेको । नेपालको लागि बार्षिक करिब ११ लाख मेट्रिक टन मलको आवश्यता रहे पनि नेपालमा ३ देखि ५ लाख मेट्रिक टन सम्म मात्र मलको आपूर्ति हुदै आएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङजा तथा पूर्वि नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछन् । केही ट्रक बिरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाई छ ।

कृषि सामग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन यूरिया र ३९ हजार ९२३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७ दशमलव ७ मेट्रिक टन यूरिया र ३१ हजार १९९ दशमलव ४ मेट्रिक टन डिएपी मल वितरण भैसकेको छ । कम्पनीको गोदाममा १० गते सम्म लुम्बिनी प्रदेशको लागि १ हजार ९८३ दशमलव २ मेट्रिक टन यूरिया र २ हजार २४३ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए ।

Skip This
Skip This
Logo