काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दीर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको बताएका छन् ।
आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दीर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताए । त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनु पर्ने ज्योतिले बताए ।
पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केही पनि नभएकोले त्यसलाई स्थापित गर्न सके मात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उनले बताए । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यवसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लडनु पर्ने बेला आएको पनि उनले बताए । त्यसका लागि आफू लगायत आफ्नो टीम सक्षम रहेको ज्योतिको भनाई छ ।
जुनसुकै नेतृत्व आए पनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लडने क्षमता राख्नु पर्ने ज्योतिले बताए । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उनले बताए । महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटनुपर्ने उनको भनाई छ । सौरभ ज्योति किशोर प्रधान समूहबाट एसोसिएट्स सदस्य समुहको उपाध्यक्ष पदका उम्मेदवार हुन् ।































प्रतिक्रिया