काठमाडाैं । नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन् ।
नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । रावलले नेतृत्व गरिरहेको एउटा महत्वपूर्ण अभियान हो – बलदेव शाह (बाँकावीर) लाई नेपालको पहिलो सहिद घोषणा गर्ने ।
बाँकावीरका बारेमा ऐतिहासिक आधार प्रस्तुत गर्दै उनले भने,‘नेपालका प्रथम सहिद भनेर लखन थापा चिनिन्छन् जसको हत्या तत्कालीन राणा सरकारले १९३३ सालमा गरेको थियो । त्योभन्दा करिब २८ वर्ष अघि १९०६ सालमै बलदेव शाहलाई राणा सरकारले मारेको थियो । तर सुदूरपश्चिम राजधानीबाट टाढा परेकाले राणा शासन विरुद्ध लड्ने बाँकाविरको योगदानलाई बेवास्ता गरियो ।’
सरकारले गरेको यस ऐतिहासिक अन्यायलाई सच्याउने र बाँकाविरलाई चिनाउने प्रयास स्वरुप फाउन्डेसनले कैलालीको मोहन्याल गाउँपालिका ७, स्थीत बाँका भन्ने स्थानमा बलदेव शाहको शालिक स्थापना गरेको छ । साथै सूदूरपश्चिम प्रदेश सरकारले समेत बाँकाविरलाई नेपालको पहिलो सहिद घोषणा गर्ने निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाइसकेको उनले बताए ।
समान हवाई भाडादर हुनुपर्ने माग
रावलले नेपालमा विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर हुनुपर्ने माग राख्दै आएका छन् । नेपाली र विदेशी पर्यटक बिच भएको हवाई भाडादरको विभेदप्रति उनले कडा रुपमा आपत्ति जनाउँदै त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । सर्वोच्चले उक्त रिटमा आजै बहस गर्न लागेको उनले बताए ।
‘एउटै जहाजमा नेपाली सँगैको सिटमा बसेका विदेशीले धेरै भाडा तिर्नुपर्ने अवस्था उचित होइन । यो विभेदले विदेशी पर्यटकलाई काठमाडौं, पोखरा र चितवन जस्ता सीमित क्षेत्रमै सीमित राखेको छ । नेपालमा घुम्नयोग्य थुप्रै स्थान छन्, तर अत्याधिक भाडादरका कारण विदेशी पर्यटकहरु सूदूरपश्चिम लगायतका पर्यटकीय गन्तव्यमा पुग्न सकेका छैनन् ।’
सरकारले हवाई भाडादरको असमानता हटाएर पर्यटनमैत्री नीति अवलम्बन गर्नुपर्ने रावलको माग छ । यसले मात्र नेपालको वास्तविक पर्यटन सम्पदामा विदेशीको पहुँच र चाासो बढ्न सक्छ । यस विषयमा नवलसिंह रावल फाउन्डेसनले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उनले नेपालमा विदेशीलाई सहज र सरल तरिकाले घुम्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
सुदूरपश्चिमको कैलालीमा जन्मिएका रावलले आफ्नो क्षेत्रको प्राकृतिक सौन्दर्य, भाषा, संस्कृति तथा भौतिक संरचनालाई प्रवद्र्धन गर्न विभिन्न भाषाका गीत–संगीतलाई पनि माध्यम बनाएका छन् । स्थानीय संस्कृतिलाई उजागर गर्दै उनले नेपाली, अछामी, थारु, हिन्दी, अंग्रेजी, र चीनीयाँ भाषमा समेत विभिन्न गीतहरू तयार पारेर पर्यटन आकर्षणमा सहयोग पुर्याइरहेका छन् । सुदुरपश्चिममा भएको सौन्दर्य प्राकृतिक तथा त्यहाँ बोलिने भाषा भौतिक संरचना आदिलाई गीतमार्फत सुनाउँदै र भिडियोमार्फत देखाउदै त्यहाँको पर्यटनमा आर्षण गरिरहेको कुरा पनि उनले जानकारी गराए । ‘पर्यटन विकासका लागि भौतिक संरचना मात्र होइन, सांस्कृतिक पक्षको जगेर्ना र प्रवद्र्धन पनि उत्तिकै आवश्यक छ,’ उनले भने ।
पर्यटन क्षेत्रको बजेट वृद्धि गर्न माग
रावलले नेपाल सरकारसँग पर्यटन क्षेत्रलाई अझ प्राथमिकतामा राख्दै उचित बजेट विनियोजन गर्न पनि माग राखेका छन् । ‘पर्यटकीय क्षेत्र भनेको केवल चितवन वा पोखरा मात्रै होइन,’उनले भने,‘सूदूरपश्चिम सहित नेपालका हरेक क्षेत्रमा अनगिन्ती रमणीय स्थलहरू छन्, जसमा राज्यको ध्यान पुग्न सकेको छैन । यदि भाडादर समान बनाइयो भने र सहजीकरण गरियो भने ती ठाउँमा विदेशी पर्यटक पुग्न सहज हुनेछ ।’
रावलको सोच र अभियानहरू नेपालको पर्यटन क्षेत्रमा न्याय, समानता र समावेशिताको पक्षमा केन्द्रित छन् । ऐतिहासिक अन्याय सच्याउने प्रयासदेखि लिएर पर्यटनमा विदेशी–नेपाली बीचको समान व्यवहार, सुदूरपश्चिमको विकासमा सांस्कृतिक योगदान, तथा नीति निर्माणमा सकारात्मक दबाब यी सबैले नेपालको पर्यटन भविष्यलाई थप समावेशी र सक्षम बनाउने दिशामा टेवा पुर्याउँछ । आफूले उठाएका सवालहरुलाई पुरा नहुन्जेल सम्म लडिरहने प्रतिवद्धता रावलले जनाएका छन् ।































प्रतिक्रिया