काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा अधिकांश वाणिज्य बैंकहरूले नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँले बढी हो।
अघिल्लो वर्ष बैंकहरूले ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएका थिए।
गत आर्थिक वर्षमा नबिल बैंकले सर्वाधिक नाफा कमाउँदै आफूलाई नम्बर वान बैंकको रूपमा स्थपित गरेको छ । नबिलले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएर वाणिज्य बैंकहरूमा शीर्ष स्थान कायम गरेको हो। यो अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो। स्थिर रणनीति र प्रभावकारी व्यवस्थापनका कारण नबिलले आफ्नो अग्रता कायम राखेको छ।
त्यसैगरी, सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रहेको छ । यो बैंकले आफ्नो नाफा ६४.४३ प्रतिशत बढाएर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले यो वर्ष उल्लेखनीय प्रगति गरेको छ।
यता ग्लोबल आइएमई बैंकले पनि पनि नबिल र एनआईएमबिलाई पच्छ्याउँदै ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ नाफा कमाएर तेस्रो स्थानमा रहन सफल भएको छ । यस बैंकले अघिल्लो वर्षको ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा १.०९ प्रतिशतले बढेको हो ।
यो अवधिमा प्रभु बैंकले पनि कमाल गरेको छ । यो बैंकको नाफामा ९६५.४० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यो बैंकले ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष केवल ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले यो वर्ष आफ्नो प्रदर्शनमा नयाँ आयाम थपेको छ।
एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ कमाएको छ।
यता कृषि विकास बैंकले पनि आफूलाई अब्बल बनाउँदै लागेको छ । अघिल्लो आर्थिक वर्षसम्म कमजोर वित्तीय अवस्थाको सामना गरिरहेको कृषि बैंकले आफ्नो नाफा ४३.३८ प्रतिशतले बढाएको छ। यस बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ कमाएको यो बैंकले आफ्नो प्रभाव विस्तार गरेको छ।
लक्ष्मी सनराइज बैंकले ४०.९७ प्रतिशत नाफा वृद्धिसहित ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँको तुलनामा यो बैंकले उल्लेखनीय सुधार गरेको छ।
प्राइम बैंकले १४.७२ प्रतिशत नाफा वृद्धिसहित ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँको तुलनामा यो स्थिर वृद्धि हो।
राष्ट्रिय वाणिज्य बैंकले ४९.५३ प्रतिशत नाफा वृद्धिसहित ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्षको २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँको तुलनामा यो उल्लेखनीय प्रगति हो।
नेपाल बैंकले १३,१७५ प्रतिशतको आश्चर्यजनक नाफा वृद्धिसहित ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष केवल २ करोड ८४ लाख २० हजार रुपैयाँ नाफा कमाएको यो बैंकले यो वर्ष नयाँ कीर्तिमान बनाएको छ।
सिद्धार्थ बैंकले १०.२३ प्रतिशतको वृद्धि हासिल गर्दै ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। त्यसैगरी, एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यस वर्ष सबैभन्दा प्रभावशाली वृद्धि कुमारी बैंकले देखाएको छ। जसको नाफा ४५,८२९ प्रतिशतको अविश्वसनीय दरले बढेर २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा ४६ लाख रुपैयाँमा सीमित थियो।
यस्तै, माछापुच्छ्रे बैंकले ९२.४४ प्रतिशतको ठूलो वृद्धिसहित २ अर्ब १ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ भने हिमालयन बैंकको नाफा २२.१४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी भएको छ।
यता, गत वर्ष केही बैंकहरूको नाफामा भने गिरावट आएको छ। एनआईसी एशिया बैंक को नाफामा सर्वाधिक ७६.९६ प्रतिशतले कमी आएको छ, जसले बैंकको नाफा १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक को नाफा ७.५० प्रतिशतले घटेर ३ अर्ब २ करोड रुपैयाँ भएको छ। नेपाल एसबिआई बैंक को नाफा ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। सिटिजन्स बैंक को नाफा पनि २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ भएको छ।































प्रतिक्रिया