काठमाडौं । गत साता देशव्यापी रूपमा भएको आन्दोलनका क्रममा आफ्नो मुख्य कार्यालय ‘एनसेल आइकन’ लगायत महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयमा भएको तोडफोडबाट भएको क्षतिको बावजुद एनसेलले आफ्ना सेवाहरू पुनः सुचारु गरेको छ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे ।
संकटको यस घडीमा पनि दूरसञ्चार सेवामा आम जनताको पहुँच सुनिश्चित गर्नका लागि एनसेलले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा प्रदान गरेको थियो। ‘यी चुनौतीहरूबीच पनि एनसेल सधैँझै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो,’ कम्पनीले भनेकाे छ, ‘संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ ।’
युवाहरूको अगुवाइमा भएको यस आन्दोलनले ल्याएको परिवर्तनको स्वागत गर्दै कम्पनीले यसले सम्पूर्ण नेपालीमा एकता, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेको छ। ‘आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी कम्पनीले आफ्ना कर्मचारी, ग्राहकलाई यस कठिन समयमा देखाएको साथ र ऐक्यबद्धताप्रति आभार पनि प्रकट गरेको छ।































प्रतिक्रिया