काठमाडौँ। हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीको माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित भएका हुन् ।मुगुमा कुल खेतीयोग्य ३१ हजार १० हेक्टर क्षेत्रफल जमिनमध्ये करिब १७ हजार हेक्टर जमिन स्याउखेतीका लागि उपयुक्त भए पनि हालसम्म ७ सय हेक्टरमा मात्र स्याउखेती भइरहेको छ ।
ताल्चा, कालापाल्त, गौरापाति, रोवा, भोवा, घटालेख, वाम, सोरुकोट, रारा, कच्र्चे, धैनकोट, खमाले, लमेरा लगायत तीन दर्जनभन्दा बढी क्षेत्रका किसान अहिले बिहानदेखि बेलुकीसम्म स्याउ टिप्न र बिक्रीमा व्यस्त छन् । स्थानीय बजारदेखि बाहिरी जिल्लासम्म माग बढेसँगै व्यापारीहरू सिधै बगैंचामै पुगेर स्याउ खरिद गर्ने गरेका छन् । कृषकहरूले प्रति किलो ४० देखि ५५ रुपैयाँ सम्ममा बिक्री गर्दै वार्षिक ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
भारत वा अन्य मुलुकमा मजदुरी गर्न जाने भन्दा आफ्नै बारीमा स्याउखेती गरेर परिवारसहित बस्न सक्ने अवस्था बनेको किसान जस बहादुर बुढाले बताए । बिगतको तुलनामा पछिल्ला वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । गत वर्ष जिल्लाबाट १३५ मेट्रिक टन स्याउ निर्यात भई ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष भने उत्पादन बढेर २१० मेट्रिक टन पुगेको छ र ९५ लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
मुगुमा रेड गोल्डेन, गोल्डेन, चक्लेटी, रेड डेलिसियस लगायतका विभिन्न जातका स्याउ उत्पादन भइरहेको छ । कृषकहरूले स्याउको भुजा, जाम, जेली, जुस र साईडर बनाएर थप आम्दानी गर्ने सम्भावना देखिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाई, मुगुका प्रमुख तेज विक्रम मल्लका अनुसार स्याउ खेती प्रर्वद्धनका लागि काटछाँट, कलमी, बेना उत्पादन, भण्डारणलगायत विषयमा तालिम र अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
तर किसानहरूले अझै पनि कोल्डस्टोर, ढुवानीमा अनुदान र बजार व्यवस्थापनमा सरकारले थप सहयोग पु¥याउनुपर्ने माग राखेका छन् । कृषकहरूको भनाइमा राज्यका तीनै तहका सरकारले आवश्यक लगानी र पूर्वाधार विस्तार गरे, मुगु जिल्लाका बासिन्दा स्याउखेतीबाट पूर्णरूपमा आत्मनिर्भर बन्न सक्ने देखिन्छ ।





























प्रतिक्रिया