भवन र संरचना क्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

भवन र संरचना क्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंमा विभिन्न सरकारी तथा निजी निकायका संरचना एवं सम्पत्तिमा ठूलो क्षति भएको छ । आन्दोलनकारीले सडकमा उग्र प्रदर्शन गर्दै भवन, सवारी साधन र कार्यालयका उपकरणमा व्यापक तोडफोड गरेका थिए । यस क्रममा उद्योग विभागको भवन समेत तोडफोडमा परेको छ । आन्दोलनका क्रममा केही व्यक्तिहरूले विभागको कार्यालयमा प्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचर लगायत भौतिक संरचनामा क्षति भएको पाइएको छ ।

उद्योग विभाग कार्यालयका निर्देशक पशुपति पुरीका अनुसार आन्दोलन पछि कार्यालयमा ठूलो मात्रामा क्षति भएपनि सेवामा भने पूर्णरुपमा अवरोध हुन दिइएको छैन । उनले आन्दोलनको दुई दिनपछि विभागले आफ्नो सेवा सुचारु गरिसकेको जानकारी दिए । ‘बाहिरबाट हेर्दा क्षति धेरै भएको देखिन्छ, तर हाम्रो प्राथमिकता नागरिकलाई सेवा दिनु हो,’उनले भने,‘त्यसैले भौतिक क्षति भएपनि काम रोकिएको छैन ।’पुरीका अनुसार अहिले विभागले क्षतिको विवरण संकलन गरी मूल्यांकनको चरणमा ल्याएको छ । आन्दोलनकारीले भवन बाहिर मात्र नभई कार्यालयभित्र प्रवेश गरेर कम्प्युटर र महत्वपूर्ण फाइलसमेत तोडफोड गरेको विभागले जनाएको छ।


‘भौतिक संरचना पुर्ननिर्माण तत्काल सम्भव छैन,’ पुरीले भने,‘तर सेवामाअवरोध हुनदिने छैनौं। पुनर्निर्माणको सवालमा सरकारले छिट्टै ठोस निर्णय लिने अपेक्षा गरेका छौं।’ उनले आन्दोलनको स्वरुपबारे मिश्रित धारणा राखेका छन्। सुरुवातमा केही नियम सुधारका माग सहित आन्दोलन सुरु भएपनि पछि यसमा अन्य समूह घुसपैठ गरी लुटपाट र तोडफोड गरेको देखिएको बताए।
‘शान्तिपूर्ण सुधारका लागि आन्दोलन हुनु सकारात्मक हो, तर यति उग्ररुप लिने अवस्था जेनजीहरूले मात्र बनाउन सक्दैनन्, अरु समूह पनि संलग्न भएको देखिन्छ,’उनले भने ।


यसैबीच, विभागले सेवामा निरन्तरता दिइरहेको छ । कार्यालय बाहिर क्षतिग्रस्त दृश्य भएपनि भित्र भने सामान्य कामकाज सञ्चालन भइरहेका छन्। उद्योग विभागले हालका लागि प्राथमिकता सेवा सुचारु राख्ने, क्षतिविवरण संकलन गर्ने र दीर्घकालीन रुपमा पुर्ननिर्माण तर्फ सरकारले ध्यान दिने बताए ।

Logo