काठमाडौं
रोजगारीका लागि कोरिया पुग्ने नेपाली मध्ये प्रत्येक वर्ष नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । पछिल्लो एक दशकमा ८८ जनाको मृत्यु भएको र १९ जनाले आत्महत्या गरेको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ ।
ईपीएस शाखामा अनुसार सन् २०१८ को जुन महिना सम्ममा मात्रै रोजगारीका लागि कोरिया पुगेका ६ कामदारले ज्यान गुमाइसकेका छन्, जसमा एक जना कामदारले आत्महत्या गरेको शाखाको रिर्पोटमा उल्लेख छ । एक जनाको स्वभाविक मृत्यु भएको थियो भने दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए ।
नेपाल र कोरिया सरकारकार बीच सन् २००७ मा भएको दुई पक्षीय श्रम सम्झौतापछि सन् २००८ देखि ईपीएस भाषा परीक्षा पास गरेर नेपाली कोरियाको रोजगारीमा जाने थालेका हुन् ।यसअघि सन् १९८० देखि नेपालबाट रोजगारी र विभिन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका थिए । दश वर्षकै अवधिमा नेपालबाट ६० हजार भन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् ।
दश वर्षकै अवधिमा कोरियामा १९ जना नेपालीले आत्महत्या गरिसकेका छन् । यसैगरी सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने १२ रहेको शाखाले जनाएको छ । यसबाहेकको मृत्यु भने स्वभाविक, हत्या, सडक दुर्घटना र कारण नखुलेको रहेको छ । शाखाका अनुसार सन् २०१७ मा सबैभन्दा बढी २२ जनाले ज्यान गुमाएका थिए, जसमा ८ जना आत्महत्या, पाँच जना सुतेको अवस्थामा र पाँच जनाको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो।
यसैगरी २०१६ मा ११, २०१५ मा १५, २०१४ मा तीन, २०१३ मा १३, र २०१२ मा ७ जनाको ज्यान गएको ईपीएस शाखाले जनाएको छ । त्यसभन्दा अघि सन् २००८ देखि २०११ सम्म चार वर्षको अवधिमा ज्यान गुमाउनेको संख्या ११ रहेको थियो । शाखाको रिपोर्ट अनुसार आत्महत्या गर्नेको संख्या सन् २०१७ मा आठ, २०१६ मा तीन, सन् २०१५ मा एक, २०१३ मा दुई र २०१२ मा चार रहेको छ । सन् २००८ देखि २०११ को अवधिमा भने नेपाली कामदारले आत्महत्या गरेका थिएनन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया