काठमाडाैं । दक्षिण एशियाकै अग्रणी ई–कमर्स कम्पनी दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेसमार्फत नयाँ सेवा ‘लास्ट–माइल डेलिभरी सोलुसन’ सार्वजनिक गरेको छ । यो सुविधा दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादन बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण सेवा हो।
दराज एक्सप्रेसले यो सेवामार्फत नेपालभरका व्यवसायहरूलाई चुस्त र विश्वासिलो वितरण सञ्जाल उपलब्ध गराउँदै उनीहरूलाई उत्पादन र विस्तारमा केन्द्रित रहन सशक्त बनाउने उद्देश्य लिएको छ। कम्पनीका अनुसार, यो प्रणाली कृत्रिम बुद्धिमत्ता आधारित रुट–प्लानिङ र रियल–टाइम ट्र्याकिङ प्रविधिबाट संचालित छ, जसले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र पूरा गर्ने क्षमता राख्छ।
हाल दराज एक्सप्रेसले देशभरका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरेको छ र आगामी ११.११ अभियानअघि थप ७० सहरमा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले ९० प्रतिशतभन्दा बढी सफल डेलिभरी दर र ४.६/५ ग्राहक मूल्याङ्कन हासिल गरेको दाबी गरेको छ।
दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीर का अनुसार, “DEx ले दक्षिण एशियाभरको लास्ट–माइल डेलिभरी प्रणालीलाई पुनःपरिभाषित गर्दै ग्राहक अनुभव सुधार र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने लक्ष्य राखेको छ।”
नयाँ सोलुसनमार्फत विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्ट, असफल डेलिभरीमा शुल्क नलाग्ने सुविधा, र पारदर्शी वित्तीय व्यवस्थापनको आश्वासन दिइएको छ । यसले व्यवसायीहरूलाई तत्काल पुनः लगानी गर्न सहज बनाउने दराज एक्सप्रेसको विश्वास छ।
दराज एक्सप्रेसको यो पहल दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने दीर्घकालीन दृष्टिकोणसँग मेल खाने बताइएको छ।





























प्रतिक्रिया