उद्यमी राईको लोभलाग्दो आम्दानी

उद्यमी राईको लोभलाग्दो आम्दानी

केन्द्रबिन्दु
9
Shares


भोजपुर। वैदेशिक रोजगारीबाट फर्किपछि डेरी उद्योग सुरु गरेका पौवादुङमा–१ श्यामशिलाका युवा दीपकुमार राईले राम्रो आम्दानी गरेका छन् । राईले छिन्तालुङ डेरी उद्योगमार्फत दैनिक ४०० लिटर दूध सङ्कलन गर्दै आएका हुन्। यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ। सङ्कलन गरिएको दूधबाट उनले छुर्पी बनाउछन्। वार्षिक झण्डै रु ५० लाख बराबरको छुर्पी बाहिर पठाउदै आएका  राईले मासिक करिब ४०० देखि ५०० किलोग्राम छुर्पी उत्पादन गर्दै आएका छन्। “मैले दूधभन्दा पनि मुख्य रूपमा छुर्पी बनाएर बेच्ने गरेको छु”, उनले भने “यहाँको छुर्पी बाहिरका जिल्लामा मात्र नभई विदेशसम्म पनि जाने गरेको छ ।”

गुणस्तरीय छुर्पी प्रतिकेजी रु एक हजार १५० सम्म बिक्री हुने गरेको उनले बताए। गाउँपालिकाले किसानलाई लक्षित गरेर अनुदानमा गाई वितरण गरेपछि दूध सङ्कलनमा कुनै समस्या नरहेको राईले जानकारी दिए। “किसानले उत्पादन गरेको दूध सदरमुकामसम्म लैजान समस्या थियो”, उनले भने, “यहाँ नै उद्योग सञ्चालन भएपछि किसानलाई बिक्रीमा सहज भएको छ । म घरघरमै पुगेर दूध सङ्कलन गर्छु ।” उहाँले नौनी घ्यू प्रतिकेजी रु ७५० र खरुवा घ्यू रु एक हजारमा बिक्री गर्दै आएका छन्। 

श्यामशिला क्षेत्रमा विगतदेखि पशुपालन हुँदै आएको भए पनि बजार अभावका कारण समस्या रहेकामा अहिले सहजता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। 

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन दुग्ध ‘मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पशुपालनका लागि उपयुक्त क्षेत्रमा उन्नत जातका गाईभैँसी अनुदानमा प्रदान गरिएको उनले जानकारी दिए। “पशुपालन गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदान सहयोग गर्दै आएका छौँ”, अध्यक्ष राईले भने, “दूध बिक्रीबाट किसानले राम्रो आम्दानी लिन थालेका छन् । प्रोत्साहनका कार्यक्रमले किसानलाई आयआर्जनमा जोडेको छ ।”

स्थानीयलाई पोषण र आयमा जोड्न यसअघिमा वर्षमा १३ वटा उन्नत जातका भैँसी वितरण गरिएको थियो । गत आर्थिक वर्षदेखि पुनःउन्नत जातका गाई वितरण भइरहेको उपाध्यक्ष ज्योत्स्ना राईले बताए।

Logo