काठमाडौं । डिजिटल बैंकिङ सेवाको प्रसारसँगै ग्राहक विवरण व्यवस्थापनलाई प्राथमिकता दिइरहेको एनआईसी एशिया बैंकले सम्पूर्ण ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) तथा ई–मेल ठेगाना अद्यावधिक गर्न औपचारिक अनुरोध गरेको छ।
बैंकका अनुसार ग्राहक खाताबाट कट्टिएको कर विवरण “आयकर ऐन २०५८” तथा आन्तरिक राजस्व विभागको प्यान प्रणालीसँग अनिवार्य रूपमा जोडिनुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो।
ग्राहकले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘अपडेट प्रोफाइल’ विकल्पमार्फत सहज रूपमा प्यान विवरण पेश गर्न सक्नेछन्। आवश्यकता अनुसार नजिकको शाखा कार्यालयमार्फत पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बैंकले निक्षेपकर्ताको ब्याज कर कट्टी र सोको विवरण सरकारी प्रणालीमा समायोजित गर्न प्यान अनिवार्य रहेको स्पष्ट गरेको छ।
बैंकका अनुसार प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा अनुसूची–१० मा मिलान हुने भएकाले कर चुक्ता प्रमाणपत्र तथा कर कट्टी प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया सहज हुनेछ। ग्राहकले प्रमाणपत्रका लागि शाखा पुग्नुपर्ने अवस्थासमेत हटिने बैंकको दाबी छ। प्यान विवरण अद्यावधिक नगरिएको अवस्थामा कर फाइलिङ तथा मिलानमा देखा पर्ने समस्याप्रति बैंकले आफू उत्तरदायी नहुने जानकारी गराएको छ।
यससँगै बैंकले ई–मेल ठेगाना अद्यावधिकसमेत अत्यावश्यक रहेको बताएको छ। अनलाइन केवाईसी, कारोबार सूचना, स्टेटमेन्ट तथा बैंक सूचना डिजिटल रूपमा उपलब्ध गराउन ई–मेल विवरण आवश्यक रहने भएकोले तत्काल अद्यावधिक गर्न आग्रह गरिएको छ। अनलाइनमार्फत अद्यावधिक सम्भव नभए नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमार्फत सेवा लिन सकिनेछ।





























प्रतिक्रिया