काठमाडौं । राम्रो धितो आफैँले सकार गरेर अनुचित लाभ लिने केही बैंक तथा वित्तीय संस्थाको प्रवृत्तिमाथि नेपाल राष्ट्र बैंकले कडा हस्तक्षेप गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै धितो सकार गर्नुअघि बैंकहरूले धितो बिक्रीका लागि अधिकतम प्रयास गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले कुनै पनि ऋणीको धितो सम्पत्ति आफैँ सकार गर्नुअघि कम्तीमा तीन पटक लिलामी प्रक्रिया पूरा गर्नुपर्नेछ। यसअघि कर्जा असुल नभएमा एक पटक लिलामी गर्दा बिक्री नभएपछि बैंकले उक्त धितो सिधै सकार गर्न सक्ने व्यवस्था थियो।
राष्ट्र बैंकको यो निर्णय बैंकहरूले मूल्यवान धितो आफैँले कब्जा गरेर पछि फाइदा उठाउने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएको बताइएको छ। नियामकले यसलाई वित्तीय अनुशासन र पारदर्शिता बढाउने कदमका रूपमा व्याख्या गरेको छ।
तर, कडाइसँगै केही खुकुलोपन पनि गरिएको छ। यसरी सकार गरिएको गैर–बैंकिङ सम्पत्तिको रकममा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रावधान सहज बनाइएको छ। यसअघि धितो सकार गरेकै मितिदेखि शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने बाध्यता थियो, तर संशोधित निर्देशनले उक्त व्यवस्था हटाएको छ।
राष्ट्र बैंकको यो कदमलाई बैंकिङ प्रणालीमा देखिँदै आएको धितो दुरुपयोग रोक्न र ऋणी–हित तथा वित्तीय स्थायित्व सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिएको छ।































प्रतिक्रिया