ललितपुर । बलियो डिजिटल पूर्वाधार बिना ‘डिजिटल नेपाल’ सम्भव नभएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B)समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए। अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने ठोकुवा गरे ।
विज्ञान र प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको भन्दै उनले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो हुन नसक्ने जिकिर गरे । डिजिटल सपना साकार गर्न डेटा सेन्टरमा लगानी अपरिहार्य भएको भन्दै अधिकारीले नेपाललाई ‘टेक हब’ बनाउन क्लाउड पूर्वाधार निर्णायक र डिजिटल अर्थतन्त्रको प्राणवायु जस्तै बनेको विज्ञान र प्रविधि र डेटा सेन्टर बिना डिजिटल नेपाल असम्भव भएको बताए । उनले डिजिटल अर्थतन्त्रको मेरुदण्ड डेटा सेन्टर भएकोमा दुईमत नभएको बताउँदै क्लाउडमै नेपालको डिजिटल भविष्य अड्किन नहुने जिकिर गरे ।
बिना पूर्वाधार डिजिटल सपना साकार नहुनेमा जोड दिँदै अधिकारीले वर्तमान डिजिटल विश्व बजारमा डेटा सेन्टरमै नेपाल हार्न नहुनेमा जोड दिए । थोरै मात्र प्रयासले पनि धेरै अगाडि जान सकिने अधिकारीको ठहर छ । सोही अवसरमा अधिकारीले निम्न कुरामा जोड दिएका छन् ।
डिजिटल पूर्वाधारमा लगानीको आवश्यकता
अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य रहेको उल्लेख गर्दै क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर र सुरक्षामा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्नेमा जोड दिए । अधिकारीले भने, “ई–कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको आकर्षणलाई मूर्त रूप दिन भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ।“
विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उनले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ बिलियन डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि बढेको उदाहरण दिँदै नेपालले पनि सोही अनुरुपको रणनीति बनाउन ढिला गर्न नहुनेमा जोड दिँदै सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराए ।
तीन बुँदे सुधारको खाका
नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले तीनवटा मुख्य सुधारका बुँदाहरू प्रस्तुत गरेका छन् ।
१. नीतिगत सुधारः डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरण (Data Localization) का लागि स्पष्ट र लगानीमैत्री कानुनको निर्माण ।
२. दक्ष जनशक्तिः विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको माग अनुसारका जनशक्ति उत्पादन ।
३. डिजिटल समावेशिताः डिजिटल रूपान्तरणलाई काठमाडौँ बाहिर ग्रामीण भेगसम्म पु-याउन दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग ।
नेपाललाई ’टेक हब’ बनाउने लक्ष्य
नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै दक्षिण एसियाकै ’टेक हब’ को रूपमा विकास गर्न सकिने सम्भावना उहाँले औंल्याउनुभयो। सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको उनको भनाइ थियो।
समिटको समापनमा अधिकारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, प्रदर्शक, र क्यान महासंघका केन्द्र, प्रदेश तथा जिल्ला तहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । सबैको सहकार्यले मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सकिने उनको अन्तिम भनाई थियो ।





























प्रतिक्रिया