४५ वर्षदेखि भाँडाको भारी बोकेरै कपाल फूल्यो सिन्धुपाल्चोकका फूलबहादुरको

४५ वर्षदेखि भाँडाको भारी बोकेरै कपाल फूल्यो सिन्धुपाल्चोकका फूलबहादुरको

केन्द्रबिन्दु
6
Shares

गलेश्वर। सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँ–गाउँ पुगेर पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् ।

धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिठ्यूँमा डोकाभरि भाँडा बोकेर म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लाका छवटै स्थानीय तहका बस्तीमा पुग्ने गरेका छन् । उनीहरूले पर्वतको अर्मादीमा भाँडा भण्डारण गरेर राख्ने गरेका छन् ।

गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार सुरु गरेका हुन् भन्ने यकिन छैन । तर बाबुबाजेको पालादेखि यही पेसा गर्दै आएकाले आफूले पनि निरन्तरता दिएको तामाङ बताउँछन् । पहिलो पटक १४ वर्षको उमेरमा बाबुसँग भाँडा बोकेर व्यापारमा निस्केका उनी अहिलेसम्म पनि यही पेसामा छन् ।

गुरुङ मङ्सिरको अन्तिम साता धादिङबाट पर्वतको अर्मादी आएका थिए । आफ्नो समूहले चैतको पहिलो सातासम्म यही क्षेत्रमा व्यापार गरेपछि पुनः गाउँ फर्केर अर्को ठाउँमा व्यापारका लागि हिँड्ने योजना बनाउने गरेको उनले जानकारी दिए ।

डोकोमा नयाँ भाँडा ल्याएर गाउँमा गई कोही बेच्ने र कोही साट्ने गर्ने काम सिन्धुपाल्चोकका व्यापारीको पुस्तेनी पेसा हो । “नयाँ सामान र ग्राहकसँग भएको पुरानो सामानको मूल्य निर्धारण गर्छौँ । बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिन्छौँ । नयाँको मूल्य कम परे आफूहरूले दिने र पुरानोको कम भए ग्राहकबाट रकम लिएर साट्ने गरिन्छ,” उनले भने ।

गुरुङका अनुसार व्यापार पहिले जस्तो नभएकाले आम्दानी पनि घटेको छ । वर्षमा एकपटक पर्वत, बागलुङ र म्याग्दी क्षेत्रमा व्यापारका लागि आउने जनाउँदै सबै खर्च कटाएर मासिक २० देखि २५ हजार रुपैयाँसम्म जोगिने बताए ।

आधुनिक प्रविधिको विकाससँगै मानिस छिटो र भरपर्दो सेवातर्फ आकर्षित हुँदै गएका छन् । आवश्यकताका लागि आधुनिक स्रोतसाधनको प्रयोग बढेको छ । सडक यातायातको विस्तारसँगै गाउँघरमै सुविधा पुगेपछि ग्रामीण क्षेत्रका बासिन्दा आफैँ बजार झरेर नयाँ भाँडा किन्ने गरेका छन् ।

केही वर्षअघिसम्म पुराना भाँडा अधिकांश घरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरू गाउँगाउँमा डोकोमा भाँडा बोकेर हिँड्ने गर्थे । तर आजभोलि गाउँघरतिर डोकोमा भाँडा बोकेर हिँड्ने दृश्य बिरलै देखिन्छ ।

Logo