काँक्रेविहार। पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ।
छेडा चाँदे–जुम्ला सडकखण्डभित्र पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ। छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ। कच्ची कटानको काम सकिएपछि स्तरोन्नति सुरु भएको हो।
मध्यपहाडी लोकमार्ग र भेरी करिडोरसँग जोडिने यो सडक पश्चिमका छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिका जोड्ने महत्वपूर्ण सडक हो। जाजरकोट क्षेत्र नं २ का लागि लाइफलाइनको रूपमा लिइन्छ। पालिकाले यही सडकसँग जोडेर आन्तरिक सडक निर्माण तीव्र बनाएको छ।
छेडाबाट मोर्कसम्मको सडक अन्तिम चरणमा पुगेको अवस्थामा बाँकी मोर्क–वडावनभित्रको १७ किलोमिटर सडकको काम सुरु भएको छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुखका अनुसार काम तीव्रगतिमा छ। सन् २०२४ अप्रिल १० मा सम्झौता भएको सडक ७३० दिनमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ। रु ४४ करोड १९ लाख ५३ हजार १५१ मा काम भइरहेको छ।
चालु आर्थिक वर्षमै काम पूरा हुने लक्ष्य रहेको छ। हाल पूर्वाधारको काम ६० प्रतिशत र आर्थिक पक्षको काम ५६ प्रतिशत प्रगति भएको छ। मन्त्रालयको सचिवसहितको टिमले अनुगमन गरी राम्रो प्रगति भएको भन्दै चालु आवमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
दोस्रो चरणको कामसमेत छिट्टै सुरु गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। वडावनबाट जुम्लाको सिमानासम्म अर्को ठेक्का खोल्ने अन्तिम तयारी भइरहेको छ। कच्ची कटान भएको ठाउँमा स्तरोन्नतिको कामका लागि बोलपत्र खुल्ने तयारी भइरहेको छ।
भेरी करिडोरको छेडाबाट सुरु भएको सडक जुम्लाको सिमानासम्म पुगेर पूरा हुनेछ। जुम्लाको तर्फबाट समेत जाजरकोटको सिमानासम्म काम भइरहेको छ। प्रदेश सरकारले यसलाई मुख्य प्राथमिकताका साथ काम गरिरहेको छ।
तराईदेखि हिमालसम्म जोडिने सडकका साथै रारा, फोक्सुण्डो ताल लगायतका ठाउँमा जान सहज र छोटो दूरीको रूपमा यसलाई लिइन्छ। जुनिचाँदे गाउँपालिका–९ का दलबहादुर शाहीका अनुसार सडक, खानेपानी र विद्युतीकरणले गाउँमा पहुँच सहज भएको छ। घरअगाडिको सडकबाटै नेपालगन्ज र सुर्खेत जाने भएकोले छोराछोरीलाई सामान पठाउन समेत सजिलो भएको छ।































प्रतिक्रिया