एसियाली बजार जित्ने टेस्लाको नयाँ चाल :कोरियामा ‘कट–डाउन’ मोडल थ्री सार्वजनिक

एसियाली बजार जित्ने टेस्लाको नयाँ चाल :कोरियामा ‘कट–डाउन’ मोडल थ्री सार्वजनिक

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । विश्वकै चर्चित ईभी ब्रान्ड टेस्लाले मूल्य संवेदनशील एसियाली बजारलाई लक्षित गर्दै दक्षिण कोरियामा मोडल थ्रीको सस्तो भर्सन लन्च गरेको छ। २८ हजार ३०० डलर मूल्य तोकिएको यो नयाँ भर्सन हालसम्म कोरियामा बिक्री हुँदै आएको मोडल थ्रीभन्दा करिब ७ हजार १०० डलर सस्तो छ, जसले टेस्लाको बजार रणनीतिमा स्पष्ट मोड देखाएको छ।

यो भर्सनलाई सस्तो बनाउन टेस्लाले रेन्ज र फिचर दुवैमा ठूला कटौती गरेको छ। नयाँ मोडल थ्रीको रेन्ज ३८२ किलोमिटरमा सीमित गरिएको छ, जबकी स्ट्यान्डर्ड संस्करणले ५८३ किलोमिटर रेन्ज दिने गथ्र्यो। त्यसैगरी, ० देखि १०० किलोमिटर प्रतिघण्टा गति लिन अब ६.२ सेकेन्ड लाग्नेछ, जुन पहिले ५.२ सेकेन्ड थियो।

भित्री सजावटमा पनि स्पष्ट कटौती देखिन्छ। लेदर अपहोल्स्ट्रिको सट्टा कपडाको सिट प्रयोग गरिएको छ भने अगाडिको इन्फोटेनमेन्ट सिस्टमबाट रेडियो फिचर हटाइएको छ। स्टेयरिङ ह्वील र अगाडिका सिटहरू अब पावरमा नभई हातैले मिलाउनुपर्नेछ।

आराम सुविधामा समेत सम्झौता गरिएको छ। अगाडिको सिटमा हिटिङ सुविधा राखिए पनि भेन्टिलेसन हटाइएको छ भने पछाडिका सिटमा हिटिङ सिस्टम पूर्ण रूपमा हटाइएको छ।

विश्लेषकहरूका अनुसार, यो कदम टेस्लाले एसियाली बजारका लागि छुट्टै ‘लो–कस्ट ईभी लाइनअप’ तयार गरिरहेको संकेत हो। चीनको सांघाई गिगाफ्याक्ट्रीमा निर्माण भएको यो भर्सन चाँडै चीनमा समेत लन्च हुने अनुमान गरिएको छ, जहाँ यसको मूल्य करिब २४ हजार ३०० डलर रहने अपेक्षा गरिएको छ।

टेस्लाको यो रणनीतिले सस्तो ईभी सेग्मेन्टमा प्रतिस्पर्धा चर्किने मात्र होइन, एसियाली बजारमा मूल्य र प्रविधिबीचको सन्तुलन कसरी बदलिँदैछ भन्ने पनि स्पष्ट संकेत दिएको छ।

Skip This
Skip This
Logo