काठमाडौं। चिनियाँ प्रविधि कम्पनी हुवावे र अटो निर्माता चेरीले सहकार्यमा ल्याउन लागेको प्रिमियम एमपीभी लक्जीड भी९ अब केवल सवारीसाधन नभएर ‘चल्ने स्मार्ट–लाउन्ज’को रूपमा प्रस्तुत हुँदैछ। हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स अन्तर्गत विकसित यो गाडीले विलासिता, विद्युतीय प्रविधि र यात्रु सुरक्षालाई एउटै प्लेटफर्ममा एकीकृत गर्दै एमपीभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ।
ठूलो परिवार र लामो दूरीको आरामदायी यात्रालाई केन्द्रमा राखेर डिजाइन गरिएको लक्जीड भी९ मा हुवावेले विकास गरेको ८००भी हाई–भोल्टेज प्लेटफर्म प्रयोग गरिएको छ, जसले फास्ट चार्जिङसँगै ऊर्जा दक्षता पनि बढाउनेछ। १.५ लिटर पेट्रोल इन्जिनयुक्त रेन्ज–एक्सटेन्डर प्रणालीले ब्याट्री चार्ज गर्ने भएकाले फुल चार्जमा करिब १२०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता यसको मुख्य आकर्षण हो। यसमा प्रयोग गरिएको सीएटीएलको ब्याट्री दीर्घायु र टिकाउपनका लागि चिनिन्छ।
तर लक्जीड भी९ लाई साँच्चै फरक बनाउने पक्ष भनेको पहिलोपटक समावेश गरिएको हेल्मेट एयरब्याग सिस्टम हो। दुर्घटनाको अवस्थामा सिट स्वतः सुरक्षित स्थितिमा सर्ने र एकैसाथ हेल्मेट एयरब्याग खुल्ने यो प्रविधिले यात्रुको टाउको र माथिल्लो शरीरलाई गम्भीर चोटबाट जोगाउने अपेक्षा गरिएको छ। यससँगै हुवावेको चियानकुन एडीएस स्मार्ट ड्राइभिङ सिस्टम ले सडक जोखिम पहिचान गरी चालकलाई सक्रिय सहयोग गर्नेछ।
सात यात्रु अट्ने यो विलासी एमपीभीमा दोस्रो पङ्क्तिका क्याप्टेन सिट १८० डिग्रीसम्म घुमाउन मिल्ने बनाइएको छ, जसले क्याबिनलाई बैठक कोठा जस्तै बनाइदिन्छ। अक्सिजन जेनेरेटर, मिनी फ्रिज, मल्टि–स्क्रिन डिजिटल लेआउट र छतमा जडान गरिएको मनोरञ्जन डिस्प्लेले लक्जीड भी९ लाई लक्जरी अनुभवको नयाँ स्तरमा पु¥याउँछ। कम भौतिक बटन र बढी टचस्क्रिन प्रयोग गरिएको यस गाडीमा हुवावेको हार्मोनीओएस सिस्टम छ, जसले स्मार्टफोन जस्तै सहज रूपमा गाडीका सबै फङ्सन नियन्त्रण गर्न सकिन्छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिएको लक्जीड भी९ ले चिनियाँ बजारमा जिक्र ००९, ली अटो मेगा र भोयाह ड्रिमरजस्ता प्रिमियम इलेक्ट्रिक एमपीभीसँग सीधा प्रतिस्पर्धा गर्नेछ। विश्लेषकहरूका अनुसार यो गाडीले चिनियाँ अटो उद्योगको नयाँ रणनीति प्रस्ट पार्छ—अब प्रतिस्पर्धा इन्जिन वा डिजाइनमा मात्र होइन, प्रविधि, सुरक्षा र ‘अनुभव’मा केन्द्रित हुँदै गएको छ।





























प्रतिक्रिया