लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

लोकमार्गको बागलुङ–बिहुँ खण्डः नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

केन्द्रबिन्दु
30
Shares

गलकोट। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि बिहुँ बयलडाँडासम्मको १३ किलोमिटर सडक खण्डमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ। दुई वर्षमा कालोपत्र सक्ने लक्ष्यसहित राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरु गरिएको यो सडक नौ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन।

नौ वर्षमा पाँचपटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि ठेक्का रद्द गरी पुनः ठेक्काका लागि अन्तिम मूल्याङ्कन भइरहेको पर्वतस्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीको चरम लापरवाहीका कारण २०८२ पुस १७ गते ठेक्का तोडिएको र हाल अन्तिम मूल्याङ्कनको काम भइरहेको इन्जिनियर कल्पना मिश्रले बताइन्। उनका अनुसार हालसम्म भएको करिब ८० प्रतिशत प्रगतिमध्ये भुक्तानी दिन बाँकी रकम र क्षति पुगेको पूर्वाधारको मूल्याङ्कन भइरहेको छ।

ठेक्का रद्दको प्रक्रिया लामो हुने भएकाले अर्थ मन्त्रालयबाट स्वीकृति छिटो प्राप्त भए एक वर्षभित्र नयाँ ठेकेदार आउने सम्भावना रहेको छ। मूल्याङ्कनपछि निर्माण व्यवसायीलाई दिन बाँकी रकम भए भुक्तानी गर्ने र आयोजनाले लिनुपर्ने भए असुल गर्ने गरी हिसाब टुङ्ग्याइने जनाइएको छ। पहिलो ठेकेदारसँग हिसाब मिलान भएपछि अहिलेको मूल्यका आधारमा बाँकी कामको लागत अनुमान तयार गरी अर्थ मन्त्रालयमा पठाइने र स्वीकृति पाएपछि नयाँ ठेक्का आह्वान गरिनेछ।

बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत–सिद्धिसाइसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको थियो। निर्माण व्यवसायीले १३ किलोमिटरमध्ये छ किलोमिटर मात्र कालोपत्र गरी काम अलपत्र पारेपछि स्थानीयको आन्दोलनपछि ठेक्का रद्द गरिएको हो। कालोपत्र गरिएको सडकसमेत उप्किएर बिग्रिएको अवस्था छ।

दुई वर्षमा सम्पन्न गर्ने ठेक्का नौ वर्षमा पनि नसकिएपछि पाँचौँपटक म्याद थप्दा समेत ८० प्रतिशत मात्र भौतिक प्रगति भएपछि थप म्याद नदिई निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको छ। ठेकेदारले हालसम्म सडक स्तरोन्नति र कालोपत्रका लागि ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

Skip This
Skip This
Logo