काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा देखिएको छ । पछिल्ला तीन दिनको अवधिमा सुनको मूल्य तोलामा कुल ५२ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार पनि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मात्र सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम गरिएको थियो। तर सोमबार एकाएक ठूलो गिरावट आएपछि सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको हो। यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो। त्यसयता अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागमा कमी र लगानीकर्ताको सतर्कताका कारण सुनको मूल्य निरन्तर ओरालो लागेको व्यवसायीहरू बताउँछन्।
सुनको मूल्य तीव्र रूपमा घट्दा उपभोक्तामा भने केही राहत मिलेको देखिन्छ। तर व्यवसायीहरू भने बजार अझै अस्थिर रहेकाले मूल्यमा थप उतारचढाव आउन सक्ने बताउँछन्। यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ। सुनसँगै चाँदीको मूल्य घट्दा गरगहना व्यवसायमा केही चलायमानता आउने आशा गरिएको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्था, डलरको मूल्य र भूराजनीतिक परिस्थितिले आगामी दिनमा सुनचाँदीको मूल्य निर्धारण गर्नेछ । त्यसैले उपभोक्ता र लगानीकर्ता दुवैले बजारको अवस्था बुझेर निर्णय लिन आवश्यक रहेको उनीहरूको सुझाव छ ।































प्रतिक्रिया