गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

केन्द्रबिन्दु
24
Shares

म्याग्दी। बेनी नगरपालिकामा रहेका गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ धार्मिकस्थल जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालन गरिएको योजना लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न भएको छ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन गरिएको एक वर्षे निर्माण अवधि भएको उक्त योजना लक्ष्यअघि नै सम्पन्न भएको हो। गण्डकी प्रदेश सरकारले ३ करोड ५९ लाख ९८ हजार रुपैयाँ बजेट सुनिश्चित गरेको योजनाको निर्माणका लागि बिबिपीएल–बिएसडीएस धवलागिरि छनोट भएको थियो।

विसं २०८२ असार १६ गते २ करोड २३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको ठेक्का अवधि २०८३ असार १६ गतेसम्म तोकिएको थियो। निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन, निर्माण सामग्रीको समयमै व्यवस्थापन तथा स्थानीयस्तरमा सहजीकरण, निगरानी र सम्बद्ध कार्यालयबीचको समन्वयका कारण योजना लक्ष्यअघि नै सम्पन्न भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।

उनका अनुसार अधिकांश आयोजना ढिलासुस्तीका कारण प्रभावित भइरहेका बेला इच्छाशक्ति, प्रभावकारी समन्वय र स्थानीय सहयोगले विकास आयोजनामा हुने ढिलाइ हटाउन सकिने सन्देश यो योजनाले दिएको छ। योजना निर्माणका क्रममा देखिन सक्ने सामाजिक समस्याको सहजीकरणका लागि सरोकार समिति गठन गरिएको उनले बताए।

यस योजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा ३०० मिटर ढलान, एक हजार १०० मिटर सडक फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर महेन्द्र बानियाँले जानकारी दिए।

यसअघि चार मिटर चौडाइ रहेको सडकलाई सात मिटर चौडा बनाइएको छ। म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथसम्म सहज पहुँच पु¥याउने, बसाइ अवधि लम्ब्याउने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले गलेश्वर–पुलाश्रम–जगन्नाथ हुँदै बेनी बजार जोड्ने सडक स्तरोन्नति गरिएको हो।

गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वारका रूपमा चिनिन्छ। पछैमा रामायणका पात्र रावणको जन्म भएको धार्मिक विश्वास रहेको छ भने प्राचीनकालमा ऋषिमुनिहरूले तपस्या गरेको स्थानका रूपमा समेत मानिन्छ। जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले निर्माण गराएको शिखर शैलीको मन्दिर अवस्थित छ ।

बाँकी खण्डको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग बजेट व्यवस्थापनको पहल गरिएको वडाध्यक्ष केसीले बताए। अघिल्लो कार्यकालमा बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौडा क्षेत्रमा करिब दुई किलोमिटर सडक स्तरोन्नति गरिएको थियो।

Skip This
Skip This
Logo