म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।

म्याग्दीको रणनीतिक महत्व बोकेको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ। पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुँदै तोरीपानी खण्डको स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिना अगावै सम्पन्न भएको हो।

यो सडक योजना निर्माणका लागि २०८१ जेठ २० गते पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि, नुवाकोटबीच ११ करोड ७६ लाख १२ हजार ५४१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो सातामै सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए।

कार्कीका अनुसार कालोपत्र भएको सडकमा रङरोगन, सङ्केतचिह्न र साइडबार जडानको कामसमेत पूरा भइसकेको छ। बजेट अभावको असहज अवस्थाका बाबजुद पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको उनले बताए।

योजना सम्पन्न भइसके पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो छ। कार्यालयका अनुसार यस योजनाका लागि एक करोड ५० लाख रुपैयाँ बजेट अपुग भएको छ।

चार किलोमिटर दूरीमा स्तरोन्नति

भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको छ। नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर माध्यमिक विद्यालय परिसरसम्म थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड सुधार, घुम्ती सुधार र अप्ठ्यारो स्थानमा ढलान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए।

५५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल गरिएको छ। यसअघि ३.५ मिटर चौडाइ रहेको सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ।

म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यालयबीचको समन्वय, जनप्रतिनिधिको सहजीकरण र समुदायको साथ भए विकास आयोजनामा देखिने ढिलासुस्ती हटाउन सकिने सन्देश यस योजनाले दिएको छ।

धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसक्ने अवस्था देखिँदै आएको उल्लेख गर्दै उनले लक्ष्यअघि नै योजना सम्पन्न हुनु सकारात्मक विषय भएको बताए। जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न गर्ने वातावरण बनाइएको पनि उनले बताए।

बेनी नगरपालिका–९ र १० तथा रघुगङ्गा गाउँपालिकाका ५, ६ र ८ नम्बर वडालाई बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ। विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासी खुसी भएका बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।

निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्या समाधानका लागि सरोकार समिति गठन गरिएको पनि उनले जानकारी दिए। सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनाबाट सञ्चालित योजना पूर्णता पाउन सकेको थिएन।

यात्राअवधि छोटियो

सडक स्तरोन्नतिपछि यात्राअवधि छोटिएको र झन्झट तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताए। सफा सडकमा सहज यात्रा गर्न पाउँदा खुसी लागेको उनले बताए।

यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताए। हाल बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा सञ्चालनमा आएको छ।

स्थानीयवासीले सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ तथा पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न माग गरेका छन्। बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक यसअघि नै बेनी नगरपालिका र प्रदेश सरकारले कालोपत्र तथा ढलान गरिसकेका छन्।

तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल भइरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए। कार्यालयमार्फत प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि समन्वय भइरहेको पनि उनले बताए।

बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ–मल्कवाङ खण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारबाट पाँच करोड रुपैयाँको बहुवर्षीय ठेक्का आह्वानको तयारी गरिएको छ।

Logo