म्याग्दी। यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो। ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलव ५ मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्यांक संकलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए। उनका अनुसार ४३० हेक्टर क्षेत्रफलमा रहेको बगैँचाबाट सुन्तला उत्पादन भएको हो। किसानले सरदर प्रतिकिलो रु ७० का दरले रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।
म्याग्दीमा ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाका बगैँचा रहेका छन्। गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष रु ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो।
गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन पाँच दशमलव ५६ प्रतिशतले घटेको छ। यस वर्ष रोगकीराको संक्रमण नदेखिए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयले जनाएको छ। मौसम अनुकूल रहे पनि एक वर्ष अत्यधिक फल्ने र अर्को वर्ष कम दाना लाग्ने सुन्तलाखेतीको प्राकृतिक विशेषताले उत्पादनमा असर परेको बताइएको छ ।
सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो। गत वर्ष प्रतिकिलो रु ६५ मा बिक्री भएको सुन्तला यस वर्ष प्रतिकिलो रु पाँच बढी मूल्यमा बिक्री भएको छ। राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन्।
जिल्ला सदरमुकाम बेनीका साथै काठमाडौँ, पोखरा, मुग्लिनलगायत बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले बताए। गिरीका अनुसार यस वर्ष आफ्नै बगैँचाबाट रु ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।
यातायात सुविधा भएकाले व्यापारीहरू गाडी लिएर सुन्तला खरिद गर्न बगैँचामै पुग्ने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ तथा बजारीकरणमा सहयोग गर्दै आएका छन्।





























प्रतिक्रिया