काठमाडौं। विश्वप्रसिद्ध विद्युतीय सवारी निर्माता बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बनेको छ। नवप्रवर्तन र दिगोपनलाई प्राथमिकता दिने दुई संस्थाबीचको यो सहकार्यलाई रणनीतिक कदमका रूपमा हेरिएको छ।
सम्झौताअनुसार बीवाईडी र यसको प्रिमियम ब्रान्ड डेन्जाका विद्युतीय सवारीसाधनहरू अब क्लबको दैनिक प्रशासनिक तथा सञ्चालन कार्यमा प्रयोग गरिनेछन्। साथै, सिटी फुटबल एकेडेमीमा चार्जिङ पूर्वाधार र ऊर्जा भण्डारण (इनर्जी स्टोरेज) प्रणाली विकास गर्न पनि बीवाईडीले प्राविधिक सहयोग गर्नेछ।
सहकार्यको प्रभाव केवल सवारी उपलब्धतामा सीमित रहने छैन। बीवाईडीको लोगो म्यानचेस्टर सिटी पुरुष पहिलो टोलीको ट्रेनिङ किट स्लिभमा देखिनेछ भने आगामी सिजनदेखि महिला पहिलो टोलीको किटमा पनि समावेश गरिनेछ। इत्तेहाद स्टेडियमभित्र विज्ञापन बोर्ड, डगआउट सिटको हेडरेस्ट लगायत विभिन्न स्थानमा ब्रान्ड उपस्थिति रहनेछ।
घरेलु खेलका अवसरमा पुरुष टोलीको आधिकारिक बस स्टेडियम प्रवेश गर्दा बीवाईडीको एक सवारी अगाडि रहने व्यवस्था मिलाइनेछ, जसले ब्रान्डको दृश्यता थप मजबुत बनाउनेछ।
दुवै पक्षले प्रविधि र खेलकुदमार्फत विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएका छन्। यस सहकार्यले विद्युतीय सवारी प्रवद्र्धनसँगै खेलकुद क्षेत्रमा दिगो ऊर्जा प्रयोगको सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा थप बल पु¥याउने अपेक्षा गरिएको छ।
बीवाईडी यसअघि युईएफए युरो २०२४ र युईएफए युरोपियन अन्डर–२१ च्याम्पियनसिप २०२५ मा पनि अफिसियल स्पोन्सरको रूपमा सहभागी भइसकेको छ।





























प्रतिक्रिया