इनड्राइभले सेवा शुल्क घटायो, ड्राइभरका लागि ०.०१% मात्र कमिसन

इनड्राइभले सेवा शुल्क घटायो, ड्राइभरका लागि ०.०१% मात्र कमिसन

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। राइड–शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्ना ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत मात्रै सेवा शुल्क लागू गरेको घोषणा गरेको छ। फेब्रुअरी २०२६ देखि प्रभावमा आएको यो व्यवस्थाले चालकहरूले आफ्नो आम्दानीको लगभग सबै हिस्सा आफैं राख्न सक्ने कम्पनीले जनाएको छ।

इनड्राइभको पियर–टु–पियर मोडेलमा यात्रु र चालकबीच आपसी सहमतिमा भाडा तय हुन्छ। अब अत्यन्त न्यून सेवा शुल्क लागू भएसँगै चालकहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने विश्वास कम्पनीको छ। यसले प्लेटफर्मलाई अझ पारदर्शी र चालक–मैत्री बनाउने दाबी गरिएको छ।

कम्पनीका अनुसार यो निर्णयको उद्देश्य चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता मजबुत बनाउनु र निष्पक्ष भाडा प्रणालीलाई प्रोत्साहन गर्नु हो। ‘फेयर राइड्स’ अवधारणालाई व्यवहारमा उतार्न पनि यसले सहयोग पुग्ने बताइएको छ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले चालक समुदायप्रति आभार व्यक्त गर्दै यो पहलले चालकहरूलाई बढी कमाउने अवसर दिने बताइन्। उनका अनुसार यसबाट यात्रुहरूले पनि सुरक्षित र किफायती सेवा पाउनेछन्।

कम्पनीले यो अभियानलाई अध्ययनात्मक पहलका रूपमा समेत अघि बढाउने जनाएको छ। लगभग शून्य सेवा शुल्कले चालक संलग्नता, सेवा गुणस्तर र प्लेटफर्मको दीर्घकालीन दिगोपनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा मूल्यांकन गरिने बताइएको छ।

इनड्राइभले नियामक पालना र निष्पक्ष प्रतिस्पर्धाप्रति प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनमा चालक–केन्द्रित तालिम र सहयोग कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।

Skip This
Skip This
Logo