ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने भएको छ। सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेका अनुसार अनलाइन टिकट बुकिङ प्रणाली हाल परीक्षण चरणमा रहेको छ। हाल सङ्ग्रहालय परिसरमा रहेका दुई काउन्टरमार्फत टिकट वितरण भइरहेको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु भइसकेको छ।
उनका अनुसार हालसम्म भौतिक काउन्टरबाट टिकट लिनुपर्ने व्यवस्था रहेकामा अब अनलाइन माध्यमबाट घरमै बसेर टिकट बुकिङ गर्न सकिनेछ। परीक्षण सफल भएपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने समस्या हट्ने, समय बचत हुने तथा पर्यटक व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ। विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ।
सन् २०२५ मा पाटन दरबार सङ्ग्रहालय ३ लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन्। तीमध्ये सार्क राष्ट्रका ४३ हजार ५३ सहित कुल १ लाख ५ हजार ३०० विदेशी पर्यटक रहेका छन्।
सङ्ग्रहालय प्रशासनका अनुसार अनलाइन टिकट प्रणालीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनुका साथै पर्यटक अनुभव सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया