काठमाडौं ।
नेपालीहरुको दोस्रो ठूलो महान चार्ड तिहार घरदैलोमा आइपुगेको छ । सहरदेखि गाँउका घरवरिपरी र बारीको डिलमा फूलेका फूल तथा सहरमा सबै तिर झिलिमिली भएसँगै तिहार माहोल सुरु भएको देख्न सकिन्छ । यसरी तिहारलाई झिलिमिली बत्ती र फूलैफूलको पर्वको रुपमा चिनिन्छ ।
दशैं सकिने वितिकै सहरदेखि गाँउघरसम्म तिहारको रौनक छाउने गर्दछ । तिहारमा मूख्य गरि विजुलीका झिलिमिली बत्ती, मखमली फूल, सयपत्री फूल, गोदावरी र माटाका पालामा बत्ती लगायतले झिलिमिली हुने गर्दछ । यो नै तिहारको मूख्य विशेषता हो । पछिल्लो समय परम्परागतहरुपमा सयपत्री फूलले घर सजाएर र माटाका पालामा बत्ती बालेर तिहारलाई झिलिमिली बनाउने गरिन्थ्यो तर अहिले प्रविधिको विकाससँगै झिलिमिली बत्तीको प्रयोग गरेर सहरदेखि गाँउघरमा समेत तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गरेर झिलिमिली बनाउने गरेका छन् ।
पछिल्लो समय झिलिमिली बत्तीको खपत बढेकाले बिक्री पनि बढ्ने गरेको छ । तर, यो वर्ष कोरोना महामारीको प्रभावले यो व्यवसायमा पनि खासै रौनक देखिएको छैन । त्यसैले यो वर्ष झिलिमिली बत्तीको आयात पनि कम भएको व्यवसायीले बताएका छन् ।
तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाका घर, ठूलाठूला सपिङ मल, अफिस तथा पसलहरुमा झिलिमिली बत्ती बालेर रंगीचंगी पार्न सुरु गरिएको छ । तिहार लागेसँगै बजारमा झिलिमिली बत्ती, पाला, मैनबत्तीको कारोबार उच्च हुने गरेको छ । तर विगतका वर्षहरुमा जस्तो कोरोना भाइरसको महामारीले झिलिमिली बत्ती, पाला, सयपत्री फूलको समेत बिक्रिमा कमी आएको र यो वर्ष पूराना सामान नै नबिक्ने देखिएको व्यवसायीहरुले बताएका छन् ।
कोरोना महामारीबीचमा पनि तिहारका लागि विगतका वर्षहरुमा भन्दा आधा मात्रै (करिव ३० करोड रुपैयाँ बराबर) तिहार लक्षित विद्युतीय बत्ती आयात हुने अनुमान गरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।
कारोना भाइरसको महामारीका कारण ६० प्रतिशत आयात घटेको नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कमल पोखरेलले बताए । गत वर्ष तिहारमा ७० करोड रुपैयाँ बराबारको झिलिमिली बत्तीको मात्रै आयात भएको थियो भने यो वर्ष ६० प्रतिशतले घटेर करिव ४० करोड रुपैयाँ बराबरको झिलिमिलि बत्ती आयात भई कारोबार हुने आंकलन रहेको महासचिव पोखरेलले बताए ।
त्यस्तै, पोखरेलले विगतका वर्षमा तिहार लागेसँगै एउटा छुट्टै खालको रौनक हुन्थ्यो । यही रौनक अनुसार व्यापारीहरूलाई पनि व्यापार गर्न भ्याइनभ्याइ हुने गरेको थियो । तर, यो वर्ष कोरोनाको त्रास तथा आर्थिक स्थिति कमजोर भएकाले गर्दा पनि बजारमा मानिसको भिड कम र व्यापारमा निकै कम भएको पोखरेल बताउँछन् ।
विगतका वर्षहरुमा देशमा लोडसेडिङ हुने गरेकाले सरकारले नै बत्ती नबाल्न आग्रह गर्ने गरेको थियो । तर विगत चार वर्षदेखि देशमा लोडसेडिङ पनि अन्त्य भएको र झिलिमिली बत्तीको खपत पनि बढ्दै गएकाले विगतको तुलनामा अहिले झिलिमिली बत्तीको प्रयोग बढ्दै गएको छ ।
यो वर्ष कोरोना महामारीले विक्री नभएपछि बजारमा झिलिमिली बत्तीको मौज्दात पर्याप्त छ । त्यसैले नयाँ ल्याउने सामानको खासै मूल्य नबढ्ने पोखरेलले बताए । अहिले बजारमा तिहारलक्षित विभिन्न प्रकारका विद्युतिय सामानहरु आयात हुने गरेका छन् । स्ट्रप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी, गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग तिहारमा अत्याधिक हुने गर्दछ ।
नेपालमा अधिकांश तिहारलाई आवश्यक बत्ती लगायत अन्य विद्युतीय सामान चीन र भारतबाट आयात हुने गरेका छन् । चीनबाट करिब ७० प्रतिशत र भारतबाट ३० प्रतिशत विद्युतीय सामग्री आयात हुने गरेको महासंघले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यस वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरुले अनुमान गरेका छन् ।
तिहार आउन केही दिन मात्रै बाँकी रहे पनि बजारमा विगतजस्तो तामझाम भने देखिएको छैन । मानिसहरुको भिडभाड कम हुनु, कोभिडका कारण उपत्यकाबाट धेरैजसो गाउँ फर्किनु लगायतका कारण व्यापारमा कमि आउने व्यवसायीहरुको भनाइ छ । सुन्धारा क्षेत्रमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका मनिस विक्रम शाहले कोरोनाका कारण व्यापारीहरु मारमा परेको बताए । तिहारमा सबैभन्दा बढी व्यापार हुने झिलिमिली बत्ती भएपनि यो वर्ष ३० प्रतिशतभन्दा बढी विक्री हुन नसकेकाले धेरै व्यवसायीहरु विस्थापित हुनु परेको शाह बताउँछन् । अर्का व्यापारी भक्ति प्रसाद भट्टराईले पनि बजारमा झिलिमिली बत्ती किन्नेहरुको भिडभाड विगत जस्तो नभएको बताए ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार विगत वर्ष भन्दा ४० प्रतिशत कम मात्रै बत्तीहरु आयात भएका छन् । कोरोनाका कारण व्यवसायीहरुले भोग्नुपरेको समस्या र चीनसँगको नाकाबाट सहजरुपमा सामान आयात नहुँदा समस्या भएको महासंघको भनाइ छ ।





























प्रतिक्रिया