कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

केन्द्रबिन्दु
21
Shares

भोजपुर। जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् ।

वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको हो ।

हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन् । गोलभेँडा, काउली, बन्दाकोभी, सिमी, खुर्सानी, हिउँदे आलुलगायत तरकारी उत्पादन हुँदै आएको छ । कतिपय किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्याससमेत थालेका छन् । तरकारी बिक्रीबाट घरखर्च धान्न र बचत गर्न सहज भएको अनुभव गरिएको छ ।

किसानले गरिरहेको प्रयासलाई निरन्तरता दिन वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । यो क्षेत्रलाई तरकारी उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको र उत्पादन बढाउन सिँचाइ व्यवस्थापन तथा आधुनिक प्रविधि विस्तारमा जोड दिइएको छ ।

बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम र आसपासका बजारमा सहजै खपत हुने गरेको छ । यातायात पहुँच राम्रो भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । केही किसानले सामूहिक रूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास सुरु गरेपछि आम्दानी अझै वृद्धि भएको उल्लेख छ ।

कृषिलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यले स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत पुगेको छ ।

व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा पनि सकारात्मक सङ्केत देखाउन थालेको छ ।

Skip This
Skip This
Logo