भरतपुरमा बजार क्षेत्रको यातायात व्यवस्थापन कडा पारिँदै

भरतपुरमा बजार क्षेत्रको यातायात व्यवस्थापन कडा पारिँदै

केन्द्रबिन्दु
45
Shares

नारायणगढ । भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय सार्वजनिक गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका सवारी, मालवाहक सवारीको रुट व्यवस्थापन, पार्किङ, ध्वनि प्रदूषण नियन्त्रण, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गर्दै आजदेखि लागू गर्ने जानकारी दिएको छ।

निर्णय अनुसार पूर्वी जिल्लाबाट काठमाडौँ र पोखरा जाने सवारीहरूले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी बाइपास सडक प्रयोग गर्नुपर्नेछ। पश्चिमतर्फ जाने सवारीले चौबिसकोठी–लायन्सचोक–पुल्चोक मार्गबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ। भरतपुर महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने वा ओराल्ने अनुमति दिइने छैन।

स्थानीय मिनीबस, म्याजिक र अटोले तोकिएका क्यु तथा पार्किङमा मात्र सञ्चालन गर्न पाउनेछन्। अटो अनिवार्य रूपमा प्रालिमा दर्ता गरी लोगो प्रदर्शन गर्नुपर्नेछ। रुट, सेक्टर र रङ निर्धारण महानगरपालिका, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिले संयुक्त रूपमा गर्नेछ। तीनपाङ्ग्रे सवारी बजार क्षेत्रमा प्रवेश गर्न पाउने छैन।

पूर्वपश्चिम राजमार्ग र पुल्चोक–आँपटाँडी सडकमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ। पुल्चोक, लायन्सचोक, चौबिसकोठी र केन्द्रीय बसपार्क चोकका टिकट काउन्टर सात दिनभित्र बसपार्कमा स्थानान्तरण गर्नुपर्नेछ।

बैठकमा कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सुरक्षा निकायका प्रमुख, विभिन्न यातायात प्रालिका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र अन्य सरोकारवाला उपस्थित थिए। प्रमुख जिल्ला अधिकारी अर्यालले भरतपुर देशकै मध्यभागमा रहेको भएकाले यातायात व्यवस्थापन अनुशासित र प्रभावकारी बनाउन निर्णय कडाइका साथ लागू गरिने जानकारी दिए।

कार्यवाहक नगरप्रमुखले बजार क्षेत्रको पार्किङ समस्या समाधानका लागि बहुउद्देश्यीय भवन निर्माण र सार्वजनिक–निजी पार्किङ प्रवद्र्धन आवश्यक भएको बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले सवारी दुर्घटना अवस्था, व्यवस्थापन चुनौती र सुधारका उपायबारे जानकारी गराए।

Skip This
Skip This
Logo