मध्यविन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसानहरू तेलहन बाली (तोरी)तर्फ आकर्षित भएका छन्। केही वर्षयता तोरीको मूल्य बढेसँगै जिल्लामा तोरीखेती गर्ने किसानको संख्या बढेको हो।
कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार यस वर्ष जिल्लामा ३,७४६ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको छ। गत वर्ष यो क्षेत्रफल ३,७२५ हेक्टर थियो, यस वर्ष २१ हेक्टरले विस्तार भएको हो।
गत आर्थिक वर्ष २०८१÷८२ मा ३,७२५ हेक्टरमा तोरीखेती हुँदा ४,४३० मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष अनुमानित उत्पादन ४,६६७ मेट्रिक टन पुग्ने अपेक्षा गरिएको छ।
जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको मुख्य पकेट क्षेत्र मानिन्छ। यस वर्ष प्रतिहेक्टर १.२५ मेट्रिक टन उत्पादन हुने अनुमान छ।
कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले तोरी बाली लगाउन सजिलो र तुलनात्मक रूपमा कम मेहनत पर्ने भएकाले किसानहरूलाई आकर्षण बढेको बताए। मूल्य वृद्धि र बजारमा तेलमा हुने मिसावटका कारण पनि स्थानीय उत्पादनको माग बढेको छ ।
तोरी ८–९० दिनमा तयार हुन्छ र घरमै गुणस्तरीय तेल उत्पादन गर्न सकिने भएकाले किसानहरूले वर्षौंदेखि लगाउँदै आएका छन्। कावासोती–१५ का धनपति अधिकारीले भने, “घरमा खानका लागि र बिक्रीका लागि पनि वर्षौंदेखि तोरी लगाउँदै आएको छु, र अहिले गाउँघरमै बिक्रीका लागि पनि उत्पादन बढेको छ।”































प्रतिक्रिया