वर्ल्डलिंकद्वारा सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम आयोजना

वर्ल्डलिंकद्वारा सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा ‘आई जात्रा’ कार्यक्रम आयोजना

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदाउट बोर्डर्ससँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘आई जात्रा’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा गरिएको छ ।

‘आई जात्रा’ आईल्याब परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो । कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार, खेल गतिविधि जस्ता सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरे।

करिब छ महिनाअघि विद्यार्थीहरूले आईल्याब तालिम लिएका थिए । तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यका आधारमा ‘आई जात्रा’ आयोजना गरिएको हो। विगत दुई वर्षदेखि वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्वअन्तर्गत आईल्याब कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ।

यसअघि ललितपुर र दार्चुलामा ‘आई जात्रा’ सम्पन्न भइसकेको छ भने सिमरामा यस पटक गरिएको छ ।

कार्यक्रममा वर्ल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानले देशबाट दैनिक ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिने अवस्थालाई उल्लेख गर्दै देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीलाई किताबीय ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उनले बताइन्।

भण्डारी जालानले, कार्यक्रममा स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा व्यवस्थापन गर्नु पर्ने उल्लेख गरिन् ।

वर्ल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Logo